काठमाडौं- टोटेनहमले इंग्लिस प्रिमियर लिग फुटबलमा जित हात पारेको छ। आइतबार राति भएको खेलमा टोटेनहमले म्यानचेस्टर युनाइटेडलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गरेको हो।
घरेलु टिमविरुद्ध आधा दर्जन गोल गर्ने क्रममा टोटेनहमका सन हेयुङ मिन र ह्यारी केनले २–२ गोल गर्दा टांगी एन्डेम्बेले र सर्ज अउरिएरले गोल गरे। यता म्यानचेस्टर युनाइटेडका लागि ब्रुनो फेर्नान्डेजले गोल गरे। खेलको दोस्रो मिनेटमा नै फेर्नान्डेजले गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई अग्रता दिलाएका थिए। खेलको चौथो मिनेटमा एन्डेम्बेलेले गोल गर्दै टोटेनहमलाई १–१ गोलको बराबरी दिलाए।
खेलको सातौं मिनेटमा सनले गोल गर्दै टोटेनहमलाई २–१ गोलको अग्रता दिलाए। त्यसपछि खेलको ३० औं मिनेटमा केनले गोल गर्दा ३७ औं मिनेटमा सनले नै अर्को गोल थप्दै टोटेनहमको अग्रतालाई ४–१ गोलको स्थितिमा पुर्याए। त्यसपछि खेलको ५१ औं मिनेटमा सर्जले गोल गर्दा ७९ औं मिनेटमा पेनाल्टीबाट केनले गोल गर्दै टोटेनहमलाई ६–१ गोलको जित दिलाए।
यो जितसँगै टोटेनहमले चार खेलमध्ये दुई खेलमा जित, एक खेलमा हार र एक खेलमा बराबरी खेल्दै सात अंक बनाएको छ। पराजित युनाइटेडले भने तीन खेलबाट एक खेलमा जित र दुई खेलमा हार व्यहोर्दै ३ अंक बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।