काठमाडौं– आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलमा तेस्रो जित निकालेको छ। शनिबार राति भएको खेलमा आर्सनलले शेफिल्ड युनाइटेडलाई २–१ गोलअन्तरले पराजित गरेको हो।
पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको आर्सनलले दोस्रो हाफमा दुई गोल गर्दा एक गोल खान पुग्यो। आर्सनलको जितमा बुकायो साका र निकोलस पेपेले गोल गरे। शेफिल्डका लागि डेविड म्याकगोल्ड्रिकले गोल गरे।
खेलको ६१ औं मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए। त्यसको तीन मिनेटपछि नै पेपेले गोल गर्दै आर्सनललाई २–० गोलको अग्रता दिलाए। खेलको ८३ औं मिनेटमा डेविडले गोल गरेपछि शेफिल्ड २–१ गोलको स्थितिमा पुगेको थियो। तर बाँकी समयमा आर्सनलले शेफिल्डलाई रोक्दै जित सुनिश्चित गरेको हो।
जितपछि आर्सनलले चार खेलबाट तीन खेलमा जित र एक खेलमा हारसहित ९ अंक बनाउँदा पराजित शेफिल्ड भने चार खेलमा जितविहीन छ।
प्रिमियर लिगमा आइबार राति नै भएको अर्को खेलमा वोल्भ्सले फुलहामलाई १–० गोलअन्तरले पराजित गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।