काठमाडौं- नेपाल आयुर्वेद चिकित्सक संघ र नेपाल आयुर्वेद विद्यार्थी समाजले विगत २१ दिनदेखि अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गरेका छन्।
आयुर्वेद चिकित्सक संघ र विद्यार्थी समाजले आज एक विज्ञप्ति जारी गर्दै १९औं सत्याग्रहमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था प्रतिकूल हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै माग सम्बोधन गरी उनको जीवन रक्षाको माग गरेका हुन्।
आयुर्वेद चिकित्सक संघका तर्फबाट विज्ञप्ति जारी गर्दै अध्यक्ष डा. प्रकाश ज्ञवालीले २१औं दिनसम्म अनसन पुग्दासमेत सरकारको तर्फबाट कुनै पनि चासो नगरिएको र वार्ता टोली समेत गठन नगरेकोप्रति आक्रोश व्यक्त गरेका छन्। विज्ञप्तिमा सरकारले तत्काल वार्ता टोली गठन नगरिए संघ आन्दोलनमा उत्रने चेतावनी समेत दिइएको छ।
त्यसैगरी नेपाल आयुर्वेद विद्यार्थी समाजको तर्फबाट जारी विज्ञप्तिमा डा. केसीको मागहरुप्रति पूर्ण ऐक्यबद्धता जनाउँदै सरोकारवाला पक्षलाई डा केसीको जीवन रक्षा गर्न माग गरिएको छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।