काठमाडौं- राजनीतिक चिन्तक, विश्लेषक एवम् लेखक खगेन्द्र संग्रौलाको अनुवादमा ‘सत्ता र सत्य’ सार्वजनिक भएको छ। श्रव्य–दृश्यमार्फत सामाजिक संजालबाट लेखकीय अभिव्यक्ति दिँदै पुस्तकको लोकार्पण गरिएको हो।
अमेरिकी लेखक मेरी डेसनले छनोट गरेका विश्वविख्यात आठ चिन्तकहरुका एघार वटा दार्शनिक निबन्धहरुलाई संग्रौलाले अनुवाद गरेका हुन्। विलियम मोरिस, आन्टोनियो ग्राम्स्की, अल्बर्ट आइन्सटाइन, बर्टोल्ट ब्रेख्त, विलियम हिन्टन, इडुआर्दो ग्यालिआनो, हवार्ड जीन, एडवर्ड डब्लु सइदका प्रसिद्ध विचारप्रधान निबन्धहरु पुस्तकमा संग्रहण गरिएका छन्।
१५ वर्षको समय लगाएर अनुवाद गरिएका निबन्धहरुको यस पुस्तकले लोक कल्याणकारी सत्यको पक्षमा उभिएर सत्तासँग विमर्श गर्ने, सत्तासँग प्रतिवाद गर्ने, सत्ताको प्रतिरोध गर्ने, नयाँ जीवन प्रणालीको परिकल्पना गर्ने अनुवादकको भनाइ छ।
'यो पुस्तक आजको विश्व पुँजीवादको आलोचना हो। विश्व पुँजीवाद न मानवजातिका लागि कल्याणकारी भयो, न प्रकृतिका लागि कल्याकारी भयो, न मानिस र प्रकृतिको सम्बन्धलाई सन्तुलितरूपमा यसले कायम राख्न सक्यो। त्यसैले यो पुस्तकले विश्व व्यवस्थाको विकल्पको परिकल्पना गर्छ। यद्यपि सबै विद्वानहरुले समाजवादको मुखररुपमा वकालत नगरे पनि तर प्रकारान्तरले अबको विश्व जाने भनेको समाजवादमा हो। र, त्यो समाजवाद भनेको मानवीय अनुहारसहितको समाजवाद हो,' पुस्तकबारे अनुवादक संग्रौला भन्छन्।
मानव समाजलाई न्याय, समानता र उज्यालोको बाटोमा लैजान प्रेरित गर्ने यस पुस्तकको भूमिकामा राजनीतिक विश्लेषक सिकेलालले सबैखाले दर्शनको शाश्वत निष्कर्ष र कुनै पनि विचार अन्तिम नहुने भन्दै स्वतन्त्र चिन्तन र अभ्यासबाट अग्रगमनतर्फ बढ्न यो पुस्तक सहायक हुने बताएका छन्।
आफ्नो जीवनका आजसम्मका कृतिहरुमा यो पुस्तक सबैभन्दा महत्वपूर्ण र सर्वकालिक कृति हुने संग्रौलाको ठम्याइ छ। पुस्तकलाई बुक–हिल पब्लिकेसनले प्रकाशन गरेको हो। पुस्तकको मूल्य ५ सय रुपैयाँ रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।