काठमाडौं– पेरिस सेन्ट जर्मेन (पिएससी) का पूर्व स्ट्राइकर इडिन्सन काभानी इंग्लिस क्लिब म्यानचेस्टर युनाइटेडमा अनुबन्धित हुने भएका छन्।
उरुग्वेका ३३ वर्षीय काभानी युनाइटेडमा आबद्ध हुन आइतबार इंग्ल्यान्ड प्रस्थान गर्दै छन्। तर काभानी युनाइटेडमा कति वर्षका लागि अनुबन्धित हुन लागेको हो त्यो भने निश्चित भइसकेको छैन। काभानीलाई युनाइटेडले दुई वर्षका लागि सम्झौता गर्ने अनुमान गरिएको छ। फ्रेन्च क्लब पिएसजीसँग काभानीको सम्झौता गत जुनमा सकिएको थियो। त्यसपछि भने काभानीलाई क्लबले थप सम्झौता गरेन। सम्झौता नगर्नुको मुख्य कारण नेयमारसँगको विवादलाई पनि मानिदै आएको छ। खेलकै दौरानमा काभानी र नेयमारबीच विवाद समेत भएको थियो।
काभानीसँग युनाइटेडले ‘फेस टु फेस’ भेटेर कति वर्षको लागि सम्झौता गर्ने त्यसको टुंगो लगाउने बताइएको छ। काभानीले ५५६ क्लब खेलमा कूल ३४१ गोल गरेका छन्। उनले पिएसजीका लागि मात्रै ३०१ खेलमा २०० गोलको रेकर्ड राखेका छन्। उनले उरुग्वेका लागि भने ११६ अन्तर्राष्ट्रिय खेलबाट ५० गोल गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।