काठमाडौं– एभर्टनले इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार चौथो खेलमा जित निकालेको छ। शनिबार राति भएको खेलमा एभर्टनले ब्राइटनलाई ४–२ गोलअन्तरले पराजित गरेको हो।
घरेलु मैदानमा एभर्टनलाई जिताउन जेम्स रोड्रिगुएजले २ गोल गर्दा डोमिनिक काल्भर्ट लेविन र यरी मिनाले १–१ गोल गरे। ब्राइटनका लागि नियल माउपे यभेस बिसउमाले गोल फर्काए। खेलको १६ औं मिनेटमा नै डोमिनिकले गोल गर्दै एभर्टनलाई अग्रता दिलाएका थिए। तर खेलको ४१ औं मिनेटमा नियलले गोल फर्काएपछि ब्राइटनले १–१ गोलको बराबरी बनाएको थियो। मिनाले पहिलो हाफको अन्तिम समयमा गोल गरेपछि एभर्टनले २–१ गोलको अग्रता बनायो।
पहिलो हाफमा २–१ गोलको अग्रता बनाएको एभर्टनले दोस्रो हाफमा पनि थप दुई गोल गर्दा ब्राइटनले भने एक गोल फर्काउन सफल भयो। खेलको ५२ औं र ७० औं मिनेटमा जेम्सले गोल गर्दै एभर्टनलाई ४–१ गोलको अग्रता दिलाए। खेलको अतिरिक्त समयमा बिसउमाले गोल गर्दै ब्राइटनलाई ४–२ गोलको स्थितिमा ल्याएपनि हारबाट जोगाउन भने सकेनन्।
एभर्टनको यो लगातार चौथो जित हो। यो जितसँगै एर्भटनले जारी लिगमा चार खेलबाट १२ अंक बनाएको छ। पराजित ब्राइटनको भने चार खेलबाट तीन अंक छ। शनिबार राति नै भएको अर्को खेलमा न्युक्यास्टलले बर्नलीलाई ३–१ गोलअन्तरले पराजित गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।