काठमाडौं– चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा फराकिलो जित निकालेको छ। चेल्सीले शनिबार राति भएको खेलमा क्रिस्टल प्यालेसलाई ४–० गोलअन्तरले पराजित गरेको हो।
घरेलु टोली चेल्सीको जितमा जोर्जिन्होले दुई गोल गर्दा बेन चिल्वेल र कर्ट जोउमाले गोल गरे। पहिलो हाफमा गोलरहित बराबरी खेलेको क्रिस्टलले दोस्रो हाफमा चार गोल खाँदा एक गोल पनि फर्काउन सकेन।
खेलको ५० औं मिनेटमा बेन चिल्वेलले गोल गर्दै चेल्सीलाई अग्रता लिदाए। ६६ औं मिनेटमा जोउमाले गोल गरेपछि चेल्सीले २–० गोलको अग्रता बनाएको थियो। खेलको ७८औं मिनेटमा पेनाल्टीबाट जोर्जिन्होले गोल गर्दै चेल्सीलाई ३–० गोलको अग्रता दिलाए। त्यसको चार मिनेटपछि नै फेरि चेल्सीले पेनाल्टी पाएको थियो। जोर्जिन्होले नै पेनाल्टी प्रहार गर्दै चेल्सीलाई ४–० गोलको जित दिलाएका हुन्।
जारी प्रिमियर लिगमा चेल्सीको यो चार खेलमध्ये दोस्रो जित हो। यसअघि चेल्सीले आफ्नो पहिलो खेलमा ब्राइटनलाई ३–१ गोलअन्तरले पराजित गरेको थियो। तर दोस्रो खेलमा साविक विजेता लिभरपुलसँग २–० गोलको हार ब्यहोरेको थियो। आफ्नो तेस्रो खेलमा भने चेल्सीले वेष्ट ब्रुमसँग ३–३ गोलको बराबरी खेलेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।