काठमाडौं–१३ वर्षअघिको रौतहट हत्याकाण्डका फरार आरोपी पक्राउ परेका छन्। बाराको सिम्रौनगढ नगरपालिका ४ बस्ने मोति सहनीका छोरा ५५ वर्षीय बद्री सहनी पक्राउ परेका हुन् । उनलाई २ नम्बर प्रदेश प्रहरी कार्यालयको विशेष टोलीले यही असोज १६ गते रौतहटको बौधीमाई ७ बड्की बंकुल क्षेत्रबाट पक्राउ गरेको हो।
२०६४ चैत २८ गते हुने संविधानसभा चुनावलाई लक्षित गरी बम बनाउने क्रममा बिस्फोट हुँदा स्थानीय नारायणसिंह राजपुतका छोरा त्रिलोकप्रताप सिंह राजपुतसहित करिब १६ जना घाइत हुनुका साथै ३ जनाको मृत्यु भएको थियो। त्यसपछि मृतक तथा घाइतेहरुलाई ट्रयाक्टरमा लोड गरी नजिकैको इँटाभट्टामा लगि जलाइएको थियो। शुक्रबार पक्राउ परेका सहनी सोही इँटाभट्टाका हेडमिस्त्री रहेको बताइएको छ।
सहनीले कांग्रेस नेता मोहम्मद आफ्ताव आलमकै निर्देशनबमोजिम घाइते तथा मृतकलाई आगोमा हालेको स्वीकार गरेको प्रहरीले जनाएको छ। सोही मुद्दामा नेता आलम हाल थुनामा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।