युवराज खतिवडाको कोठामा वरिपरि कुनै भगवानको फोटो छैन। तर सुत्ने खटियाको माथि एउटा उज्यालो अनुहार भएको, मन्द मुस्कान दिएका नेपाली ढाकाटोपी लगाएको व्यक्तिको फोटो छ। त्यही फोटो अगाडि एउटा दियो छ र अगरबत्ती बलिरहेको छ। कोठा अन्धकार नै भए पनि दियोकै कारण त्यो व्यक्तिको अनुहार प्रष्ट देखिन्छ।
सुत्ने बेलामा युवराज प्रार्थना गरिवरी सुत्छन्। 'हे ईश्वर! मेरो मनमा रहेको एउटा नयाँ इच्छा पूर्ण गर्दिनुस्।'
युवराज निदाउन लाग्दा त्यही फोटोबाट एक किसिमको चमत्कारिक बत्ती बल्छ। कोठा उज्यालो हुन्छ र सानो सूक्ष्म बोली सुनिन्छ।
'बालक तिमी के चाहन्छौ अब? माग। पूरा गर्दिनेछु।'
'हे ईश्वर! मलाई केही चाहिँदैन हजुरको आशिर्वाद एवं साथ सधैँ रहिरहोस्।'
'बालक म सधैँ तिम्रो साथ छु। तिमी नेपाली राजनीति र पुँजीवादी समाज निर्माण गर्न सधैँ सफल रहिरहनेछौ। तथास्तु।'
'धन्यवाद प्रभु। म अब राजदूत बन्न चाहन्छु। अमेरिकाको।'
'तथास्तु युवराज।'
तन्द्राबाट झसंग हुँदै युवराज ब्युझिन्छन्।
ती फोटोका व्यक्ति अरु कोही नभएर प्रधानमन्त्री केपी ओली थिए। उनी ओली मन्त्र सधैँ जपिरहन्छन्। त्यसैले उनले बेलाबखत तथास्तु सुन्न पाइरहन्छन्।
रिक्त पद पूर्ति गर्न नभएर खतिवडा भनिने असल भक्तलाई सधैँ निगरानी, अनुकम्पा र शरणमा लिन नै भगवान ओलीले उनलाई दाहिना राखिरहेका छन्। उनकै तथास्तुले गर्दा ती युवराजले कहिल्यै पदविहीन बस्नु परेन। दुई वर्षेदेखि १५ दिने पद पनि पाए।
केहीअघिसम्म मन्त्री भएका युवराजले मनमौजी काम गर्ने अवसर पाए। कर उठाउन कुनै कसर बाँकी राखेनन्। किताबमा समेत छाडेनन् भने अरुको के कुरा? त्यसैले त उनलाई करमन्त्री समेत भनियो। अरुका लागि विवादित भए पनि भगवान ओलीका लागि उनी परम भक्त भइरहे। भगवानकै चित्त बुझाएपछि अरुको के मतलब?
भक्त बाहिरिएपछि अर्थ जगतमा केही उल्लास आएको विश्लेषण पनि भइरहेकै छ।
उनी आफ्नो अर्थमन्त्री कार्यकाल सकेर आनन्दले बस्न सक्थे र स्वतन्त्र जीवन अपनाउन सक्थे तर उनीलाई प्रभु ओलीको कृपा टुटेन। भगवानले नै थप भूमिका चाहेपछि भक्तको के लाग्छ? कृपावादले भरिएको राजनीतिमा स्वयं भगवानकै कृपा। थप चर्चाको के जरुरत?
उनको जस्तो इच्छा थियो त्यो परिपूर्ति हुँदै गयो। मन्त्री नरहे पनि उनी मन्त्री सरह तलब भत्ता पाउने भाग्यमानी बने। कसले भन्छ र भगवान हुदैनन् भनेर। सबैका आफ्ना भगवान् हुन्छन्, त्यो अलग कुरा हो।
युवराजलाई हेर्नुस्, भगवान ओलीले सधैँ तथास्तु मात्रै भनिदिएका छन्। अरुको हकमा भए आफूले सोचेपछि मात्रै भगवानले पुर्याउँथे, युवराजको हकमा त कहिलेकाहीँ स्वयं भगवानले नै सोचिदिन्छन्।
तथास्तुको निरन्तरतामा युवराज राजदूत सिफारिस हुन आइपुगे। यतिसम्म भाग्यामानी त राजाकै सन्तान युवराज पनि हुँदैन। गणतन्त्र आए पनि युवराजको भाग्य हरण भएको रहेनछ।
पहिलादेखि नै उनको तपस्या आफ्ना भगवानतिर छँदैथियो। त्यसैले भगवानहरु बस्ने पार्टी तत्कालीन एमालेको सरकार बन्ने बित्तिकै उनले अवसर पाइरहे। नेकपा बनेपछि पनि त्यो कम भएन। योजना आयोगका उपाध्यक्ष, गभर्नरदेखि मन्त्रीहुँदै राजदूत जस्ता पद उनका लागि पानी पँधेरो भयो। माधव नेपालदेखि केपी ओलीसम्मले उनलाई च्यापेका हुन्।
अवसर नपाएर युवराजले मुख सानो पार्नुपरेन। उनका हातमा अनेकथरि मिठाइ आइपुगे। मान्छेले सोच्नै नसक्ने पद समेत उनलाई पर्खीपर्खी हात लाग्न थाले।
कसले भन्छ ईश्वर छैनन् भनेर? गीतामा भगवान कृष्णले भन्नुभएको छ- म विभिन्न रुपमा विभिन्न समय लिएर सधैँ भक्तको सेवा गर्नेछु। तिमी चिताऊ म पुर्याउनेछु।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।