काठमाडौं– जेलमा रहेका गुण्डा नाइके रमेश बाहुनको निर्देशनमा असुली धन्दा चलाएको आरोपमा गुण्डा नाइके दुर्गा राई पक्राउ परेका छन्।
महानगरीय प्रहरी परिसर काठमाडौंका टोलीले काभ्रेको नमोबुद्ध घर भएका राईलाई कोटेश्वरबाट पक्राउ गरेको हो। पक्राउ परेका राईविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा म्याद लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ।
‘जेलमा रहेका गुण्डा नाइके बाहुनले राईलाई परिचालन गरेर धम्क्याउँदै रकम उठाउने गरेको भन्ने सूचना आएपछि उनलाई पक्राउ गरिएको हो। यसबारेमा अनुसन्धान भइरहेको छ’ परिसरका एसएसपी श्यामलाल ज्ञवालीले बताए।
रेलको ठेक्का भएको बेला केही ठेकेदारहरुबाट बाहुनकै निर्देशनमा रकम असुली गरेको भन्ने सूचना समेत आएको प्रहरी स्रोतले जानकारी दियो। तर अहिले सरकारले उक्त रेलको ठेक्का भने रोक्का गरेको छ।
पक्राउ परेका राईको मोबाइल असुली धन्दाको केही प्रमाण हुनसक्ने भन्दै प्रहरीले उनको मोबाइल फरेन्सिक जाँचका लागि पठाएको छ।
पक्राउ परेका गुण्डा नाइके देवान नामले समेत परिचित छन्। गुण्डा नाइके मिनकृष्ण महर्जनलाई गोली हानेको आरोपमा राई तीन वर्ष जेल बसेर छुटेका व्यक्ति हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।