काठमाडौं- स्पेनिस क्लब बार्सिलोनाले नेदरल्याण्ड्सको क्लब आयाक्समा खेल्ने अमेरिकाका राइट ब्याक डिफेन्डर सर्जिनो डेस्टलाई किनेको छ। पाँच वर्षको सम्झौतामा बार्सिलोनाले डेस्टलाई २१ मिलियन युरोमा लगेको हो। पछि विभिन्न सर्तअनुसार थप ५ मिलियन युरो तिर्नुपर्ने हुनसक्छ।
नेल्सन सेमेडोलाई प्रिमियर लिग क्लब वुल्भ्समा बेचेपछि बार्सिलोनामा राइट ब्याक खेल्ने खेलाडीको खोजी भइरहेको थियो। १९ वर्षका डेस्टलाई किन्ने दौडमा जर्मन क्लब बायर्न म्युनिक पनि लागिपरिरहँदा डेस्टले बार्सिलोना रोजेका हुन्।
‘बार्सिलोनामा नेदरल्याण्ड्सका प्रशिक्षक छन्, उनीहरुको राइट ब्याक पनि भर्खरै वुल्भ्स गए, त्यसैले मैले बार्सिलोनामा खेल्ने राम्रो अवसर पाउँछु भन्ने लाग्यो’, डेस्टले भनेका छन्, ‘अहिले म भर्खरै अघि बढ्दैछु, धेरै कुरा सोच्नु अहिले नै हतार होला र मलाई म योग्य छु भन्ने थाहा छ र चुनौतीको सामना गर्न मन पर्छ।’
अमेरिकाको राष्ट्रिय टिमबाट समेत खेलिसकेका १९ वर्षका डेस्ट आयाक्सको युवा टिम हुँदै गएको सिजन आयाक्स सिनियर टिमबाट खेलेका थिए। नेदरल्याण्ड्समा नै जन्मिएका डेस्ट आफ्ना बुबाको देश अमेरिकाको राष्ट्रिय टिममा आबद्ध भएको हुन्।
डेस्टलाई बार्सिलोनाले ‘क्रियटिभ’ राइट ब्याकका रुपमा आफ्नो क्लबमा भित्र्याउने योजना बनाएको हो। जहाँ बार्सिलोना प्रशिक्षक रोनाल्ड कोम्यानको योजनामा पनि डेस्ट नै परेका छन्। एक समयका बार्सिलोना स्टार ड्यानी अल्भेसको खेल शैलीसँग डेस्टको शैलीको तुलना पनि भइरहेका छन्।
आफ्नो फुटबलको सुरुवाती दिनमा विंगरबाट खेलेका डेस्ट पछि राइट ब्याकका रुपमा खेल्न थालेका थिए। यसैले अहिले पनि उनको खेलमा विशेष तीब्रता देखिन्छ। आयाक्समा डेब्यू सिजनको ३६ खेलमा उनले दुई गोल र छ असिस्ट गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।