एजेन्सी–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना संक्रमण भएको छ। ट्रम्पले केहीबेर अघि ट्वीट गर्दै आफू र श्रीमती मेलानियालाई कोरोना संक्रमण पुष्टि भएको जनाएका हुन्।
यसअघि उनले आफ्ना एक निकट सहयोगीमा कोरोनाभाइरस देखिएपछि क्वारेन्टाइनमा बसेको जनाएका थिए। उनका ३१ वर्षीया सल्लाहकार होप हिक्समा संक्रमण देखिएपछि राष्ट्रपति र मेलानिया ट्रम्पले आफ्नो परीक्षणको नतिजा पर्खिरहेको बताएका थिए।
साताको सुरुमा ओहायोमा भएको टेलिभिजन बहसमा ट्रम्प सहभागी हुन जाँदा हिक्स एयरफोर्स वानमा उनीसँगै थिइन्। मंगलबार राष्ट्रपति चढेको उक्त विमानबाट ओर्लंदा हिक्सले मास्क नलगाएको तस्बिर सार्वजनिक भएको थियो।
बुधवार ट्रम्प मिनेसोटामा भएको एउटा र्यालीमा सहभागी हुन जाँदा राष्ट्रपति चढेको हेलिकप्टरमा अझ नजिक देखिएकी थिइन्। बिहीबार राति ट्रम्पले ट्विटरमा हिक्सलाई कोरोना भएको उल्लेख गरेका थिए ।
क्वारेन्टाइनले दोस्रो राष्ट्रपतीय बहसलाई कसरी असर पार्नेछ भन्ने अझै स्पष्ट हुन सकेको छैन। दोस्रो बहस फ्लोरिडा राज्यको मायामिमा १५ अक्टोबरलाई तय गरिएको छ।
बिहीवार राति फक्स न्यूजसँग कुरा गर्दै ट्रम्पले आफू र श्रीमती ट्रम्पले ‘धेरै समय होपसँग बिताउने गरेको’ बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।