काठमाडौं– आर्सनल काराबाओ कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। चौथो चरणको खेलमा लिभरपुललाई पेनाल्टीमा पराजित गर्दै आर्सनल अन्तिम आठमा पुगेको हो।
निर्धारित समयसम्म दुवै टिमले गोलरहित खेलेपछि पेनाल्टीबाट खेलको छिनोफानो गरिएको थियो। पेनाल्टीमा आर्सनलले लिभरपुललाई ५–४ गोलले पछि पार्यो। आर्सनलमाथि निकै आक्रामक खेलेको लिभरपुलले गोल गर्न भने सकेन। आर्सनलको पोष्टमा १६ पटक प्रहार गरेको लिभरपुलले पेनाल्टीमा पुगेर स्तब्ध भयो।
पेनाल्टीमा लिभरपुलका लागि जेम्स मिल्नर, जर्जिनो वानाल्डम, टाकुमी मिनामिनो र कर्टिस जोन्सले गोल गरे। डिभोक आरिगी र ह्यारी विल्सनले भने पेनाल्टीमा गोल गर्न चुके। यता, आर्सनलका लागि भने एलक्सान्द्रे लकाजेट, सेड्रिक सोआरेस, एन्सले नाइल्स, निकोलस पेपे र जोइ विलकले गोल गर्दा माहम्मद इल्नेनी भने गोल गर्न चुकेका थिए।
यो जितसँगै आर्सनलले लिभरपुललाई इंग्लिस प्रिमियर लिग फुटबलमा ब्यहोरेको हारको बदला पनि लिएको छ। मंगलबार राति मात्रै प्रिमियर लिगमा लिभरपुलले आर्सनललाई ३–१ गोलअन्तरले पराजित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।