काठमाडौं- युरोपियन फुटबलको प्रशासकीय निकाय (युइएफए) ले दिने वर्ष उत्कृष्ट खेलाडीको अवार्ड जर्मन क्लब बायर्न म्युनिकका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले जितेका छन्। उनले इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डि ब्रायन र बायर्नकै गोलकिपर म्यानुअल नोयरलाई पछि पारेका हुन्। 
लेवान्डोस्कीले गएको सिजन बायर्न म्युनिकबाट ४७ खेलमा ५५ गोल गरेर युरोपको सर्वाधिक गोलकर्ता बनेका थिए। च्याम्पियन्स लिगमा सर्वाधिक १५ गोल उनकै नाममा रह्यो। बायर्नकै गोलकिपर नोयर पनि वर्षको तीन उपाधिमा टिमका लागि महत्वपूर्ण थिए। यस्तै डि ब्रायनले गएको सिजन प्रिमियर लिगमा २० असिस्ट र १३ गोल गरेका थिए।
यी उत्कृष्ट तीनबाहेक उत्कृष्ट १० खेलाडीको सूचिमा चौथो नम्बरमा बार्सिलोनाका लियोनल मेस्सी रहे। पाँचौँमा पिएसजीका नेमार, छैठौँमा बायर्नका थोमस मुलर, सातौँमा पिएसजीका केलियन एमबाप्पे, आठौँमा गएको सिजन बायर्नमा रहेका थियागो अलकान्टारा, नवौँमा बायर्नकै जोसुवा किमिच र दशौँमा युभेन्टसका क्रिष्टियानो रोनाल्डो रहे। 

वर्ष उत्कृष्ट खेलाडी छान्न युरोपमा खेलिरहेका खेलाडीमध्ये एक सिजनभर गरेको खेल प्रदर्शनलाई आधार बनाइएको हुन्छ। जसमा राष्ट्रिय लिग, युरोपियन च्याम्पियन्स लिग र राष्ट्रिय टिमबाट खेलेको खेललाई समेत आधार बनाइन्छ। गएको सिजन लिभरपुलका डिफेन्डर भर्जिल भ्यान डाइकले युइएफए वर्ष उत्कृष्ट खेलाडी अवार्ड जितेका थिए। 
अरु विभिन्न विधामा अवार्ड जित्नेहरुः
वर्ष उत्कृष्ट महिला खेलाडी – हार्डर
वर्ष उत्कृष्ट पुरुष टिम प्रशिक्षक – फ्लिक
वर्ष उत्कृष्ट गोलकिपर – नोयर
वर्ष उत्कृष्ट डिफेन्डर – जोसुवा किमिख
वर्ष उत्कृष्ट मिडफिल्डर – केभिन डि ब्रायन
वर्ष उत्कृष्ट फरवार्ड – लेवान्डोस्की
वर्ष उत्कृष्ट महिला डिफेन्डर – रेनार्ड
वर्ष उत्कृष्ट महिला फरवार्ड – हार्डर
 
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।