काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा कालोबजारी र नाफाखोरी गर्ने व्यापारीबाट जफत गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत् बिक्री गरेको प्याज तीन दिनमै सकिएको छ।
बजार मूल्यभन्दा आधा सस्तोमा बेचिएको १४ हजार ६ सय ५९ किलो प्याज तीन दिनमै रित्तिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी सर्मिला न्यौपानेले जानकारी दिइन्।
‘खाद्य व्यवस्था कम्पनीमार्फत बेच्नका लागि आएको १४६ दशमलव ५९ क्विन्टल प्याज ती चार दिनमै बिक्री भएर सकियो। त्यसमध्ये केही बिग्रिएको पनि छ,’ सुवेदीले भनिन्। जफत गरिएको प्याज खाद्य व्यवस्थाले प्रतिकिलो ६० रुपैयाँका दरले बेचेको थियो।
अघिल्लो हप्ता भारतले प्याज निर्यातमा बन्देज लगाएपछि नेपाली बजारमा मूल्य आकासिएको थियो। त्यहि बेला केही वाणिज्य विभागले गरेको बजार अनुगमनका क्रममा केही व्यापारीले प्याजमा कालोबजारी, मूल्यवृद्धि र नाफाखोरी गरेको भेटिएको थियो।
अहिले ३ व्यापारीउपर कालोबजारी मुद्दा चलिरहेको छ। मुद्दा फैसला हुन्जेल प्याज बिग्रिसक्ने भएकाले खाद्य व्यवस्था कम्पनीमार्फत् बेचेको हो। यदि व्यापारीहरुले मुद्दा जितेको खण्डमा पैसा फिर्ता पाउँनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।