काठमाडौं– म्यानचेस्टर सिटी काराबाओ कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको खेलमा बर्नलीलाई ३–० गोलले पराजित गर्दै सिटी क्वार्टरफाइनलमा पुगेको हो।
सिटीको जितमा रहिम स्टर्लिङले दुई गोल गर्दा फेरान टोरेसले एक गोल थपे। पहिलो हाफमा एक गोलको अग्रता बनाएको सिटीले दोस्रो हाफमा थप दुई गोल गर्दै जित निकालेको हो। खेलको ३५औं मिनेटमा स्टर्लिङले गोल गर्दै सिटीलाई अग्रता दिलाए।
खेलको ४९औं मिनेटमा टोरेसको एसिस्टमा स्टर्लिङले व्यक्तिगत दोस्रो गोल गर्दै २–० गोलको अग्रता दिलाए। खेलको ६५औं मिनेटमा टोरेसले स्टर्लिङको एसिस्टमा गोल गर्दै सिटीलाई ३–० गोलको सहज जित दिलाए।
त्यस्तै, ब्राइटनलाई ३–० गोलको सहज जित निकाल्दै म्यानचेस्टर युनाइटेड पनि काराबाओ कपको अन्तिम आठमा प्रवेश गरेको छ।
बुधबार राति नै भएको अर्को खेलमा एभर्टनले वेष्टहामलाई ४–१ गोलअन्तरले पराजित गर्दै काराबाओ कपको क्वार्टरफाइनलमा स्थान बनाएको छ। एभर्टनको जितमा डोमिनिक काल्भर्ट लेविनले ह्याट्रिक गोल गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।