काठमाडौं– बायर्न म्युनिकले जर्मन सुपर कप फुटबलको उपाधि जितेको छ। बुधबार राति भएको फाइनलमा बायर्नले बोरुसिया डर्टमन्डलाई ३–२ गोलले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो।
बायर्नलाई उपाधि दिलाउन कोरेन्टिन टोलिसो, थोमस मुलर र जोसुवा किमिचले गोल गरे। यता, डर्टमन्डका लागि जुलियन ब्रान्ड र एर्लिङ ब्राउट हलान्डले गोल फर्काए। खेलको १८औं मिनेटमा नै टोलिसोले गोल गर्दै बायर्नलाई अग्रता दिलाए। खेलको ३२औं मिनेटमा मुलरले गोल गरेपछि बायर्न २–० गोलले अघि रहेको थियो। खेलको ३९औं मिनेटमा जुलियनले गोल गर्दै डर्टमन्डलाई २–१ गोलको स्थितिमा ल्याए।
पहिलो हाफसम्म २–१ गोलअन्तरले अघि रहेको बायर्नले दोस्रो हाफमा थप एक गोल गर्दा एक गोल नै खान पुगेको थियो। खेलको ५५औं मिनेटमा हलान्डले गोल गरेपछि डर्टमन्डले २–२ गोलको बराबरी बनाउँदै खेलमा फर्किएको थियो। तर खेलको ८२औं मिनेटमा किमिचले गोल गर्दै बायर्न म्युनिकलाई ३–२ गोलको जित दिलाए।
यो उपाधिसँगै बायर्नले आठौं पटक जर्मन सुपर कप फुटबलको उपाधि जितेको छ। केही दिनअघि मात्रै बायर्नले स्पेनिस क्लब सेभियालाई पराजित गर्दै युइएफए सुपर कप फुटबलको उपाधि जितेको थियो। त्यस्तै, पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पराजित गर्दै बायर्नले च्याम्पियन्स लिगको उपाधि पनि जितेको थियो।
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।