काठमाडौं- सरकारले बंगलादेशसँग सापट मागेको ५० हजार मेट्रिक टन युरिया मल ढुवानीको जिम्मा संयुक्त अरब इमिरेट्स (युएई) को कम्पनी जेन्ट्रेड एफजेडएफले पाएको छ।
मल ढुवानीका लागि कृषि सामग्री कम्पली लिमिटेडले असोज ३ गते पहिलो पटक ग्लोबल टेण्डर आह्वानको सुचना प्रकाशित गरेको थियो। कृषि सामग्री कम्पनीका प्रवक्ता विष्णुप्रसाद पोखरेलकाअनुसार ५ वटा कम्पनीको टेण्डर आवेदन परेकोमा जेन्ट्रेडले सबैभन्दा कम अर्थात प्रति मेट्रिक टन ८२ दशमलव २४ अमेरिकी डलरमा ढुवानी गर्नेगरी प्रस्ताव हालेको थियो।
सार्वजनिक खरिद ऐन तथा नियमावलीअनुसार कम रकम कबोल्ने उक्त कम्पनीलाई मल ढुवानीको जिम्मा दिइएको हो।
बंगलादेशको चटगाउँ बन्दरगाहबाट मल नेपाल ल्याउनका लागि ब्यागिङ गर्ने, लोडअनलोड गर्ने र ढुवानी गर्ने गरी उक्त कम्पनीलाई जिम्मा दिर्ईएको प्रवक्ता पोखरेलले बताए। कृषि सामग्री कम्पनीका अनुसार टेण्डर प्रकृया शुरु भएको ६० दिनभित्र मल नेपाल आइसक्नुपर्नेछ।
नेपालका २ कम्पनी शैलुङ इन्टरप्राईजेज र होनिको मल्टिपलले समयमा मल ल्याउन नसकेपछि सरकारले गत भदौ १५ गते बंगलादेशसँग मल सापट माग्ने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।