काठमाडौं- स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले पछिल्लो समय भएका सबै कुराहरुलाई बिर्सिएर अगाडि बढ्न बार्सिलोना समर्थक र क्लबमा आबद्धहरुलाई आग्रह गरेका छन्। 
गएको सिजन सकिने वित्तिकै बार्सिलोना छाड्ने प्रयासमा लागेका मेस्सी अन्ततः बार्सिलोनामा नै रहने भन्दै अन्तर्वार्ता दिएका थिए। मेस्सीले छाड्ने बताएसँगै उनलाई छाड्न नदिन क्लब ब्यवस्थापन लागिपरेको थियो। जसले विवाद अदालत लानुभन्दा आफू बस्न नै राजी भएको मेस्सीको भनाइ थियो। 
अहिले नयाँ सिजन सुरु भएपछि मेस्सी बेखुस देखिएको र उनको पुरानै शैली नरहने अनुमान र हल्लाहरु चलिरहँदा मेस्सीले स्पोर्टससँगको कुराकानीमा अब अगाडिको बाटो अझ राम्रो हुनेछ भन्ने सोचेर बढ्नुपर्ने बताएका हुन्। 
‘यति धेरै असहमतिका बीच पनि म त्यो सबै विवादलाई यहि सकाउन चाहन्छु। बार्सिलोनाका सबै समर्थक एकजुट भएर बढ्नुपर्छ, र यो मानौँ कि सबैभन्दा राम्रो समय अझ आउन बाँकी नै छ’, मेस्सीले भनेका छन्, ‘आज पनि बार्सिलोनाप्रतिको मेरो प्रतिबद्धता र सम्मानमा कुनै आँच आएको छैन, उस्तै रहिरहनेछ।’ 
‘जसले हामीलाई पछ्याइरहनुभएको छ उहाँहरु सबैमा म एउटा सन्देश दिन चाहिरहेको छु, तपाइँहरुमध्ये जो कोही मैले कुनै समय भनेका कुरा र मैले गरेका कुनै कामले रिसाउनुभएको छ भने म भन्न चाहन्छु मैले क्लबको विरुद्ध कुनै काम गरेको छैन, जे चाहे र जे गर्छु त्यो क्लबका लागि राम्रो होस् भन्ने हेतुले नै हो’ उनले भनेका छन्।  
मेस्सीले क्लब छाड्ने प्रयास असफल हुँदा साथै लुइस स्वारेजले क्लब छाड्दा मेस्सीले खुलेरै बार्सिलोना ब्यवस्थापनविरुद्ध बोलेका थिए। जसले मेस्सीको व्यवहारमाथि पनि प्रश्न खडा भएको थियो। 
नयाँ सिजन ला लिगाको पहिलो खेलमा गएको आइतबार राति बार्सिलोनाले भिलारियललाई ४-० ले हराएको थियो। जसमा नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको योजना सफल भएको मानिएको छ। लिगको दोस्रो खेलमा बार्सिलोनाले बिहीबार राति सेल्टा भिगोसँग खेल्दैछ। 
 
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।