काठमाडौं– बेन्फिकाका डिफेन्डर रुबेन डाएस इंग्लिस क्लब म्यानचेस्टर सिटीमा अनुबन्धित भएका छन्। डाएसलाई म्यानचेस्टर सिटीले ६५ मिलियन पाउण्डमा भित्र्याएको हो।
२३ वर्षीय डिफेन्डर डाएसलाई म्यानचेस्टर सिटीले ६ वर्षका लागि अनुबन्धित गरेको हो। अर्जेन्टिनी सेन्टर ब्याक निकोलस ओटामेन्डीले १३.७ मिलियन पाउण्डमा अन्य क्लब जाने भएपछि उनको स्थानमा डाएसलाई सिटीले भित्र्याएको हो। यो सिजनमा म्यानचेस्टर सिटीले डाएसलाई तेस्रो खेलाडीको रुपमा टिममा अनुबन्धन गरेको हो। यसअघि डिफेन्डर नाथन एके र फरवार्ड फेरान टोरेसलाई सिटीले किनेको थियो।
डाएस बेन्फिका एकेडेमीका उत्पादन हुन्। उनले बेन्फिकाको सिनियर टिमबाट ११३ खेल खेलेका छन्। उनले पोर्चुगल सिनियर टिमबाट भने १९ खेल खेलेका छन्।
अनुबन्धनपछि डाएसले आफ्नो लागि यो ठूलो अवसर भएको बताएका छन्। उनले भनेका छन्, ‘म्यानचेस्टर सिटी जस्तो क्लबमा अनुबन्धित हुनु मेरा लागि ठूलो अवसर हो। पेप गार्डिओलाजस्ता विश्वस्तरीय प्रशिक्षकको टिमबाट खेल्न म निकै उत्साहित पनि छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।