काठमाडौं– इंग्लिस क्लब लिभरपुलका मिडफिल्डर थियागो अलकान्टारालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ।
कोरोना भाइरसको परीक्षण गर्दा थियागोमा पोजेटिभ देखिएको हो। संक्रमण देखिसँगै उनलाई सेल्फ आइसोलेसनमा राखिएको छ। काराबाओ कपमा लिंकनलाई ७–२ गोलअन्तरले पराजित गर्दा उनी टिममा थिएनन्। आर्सनलविरुद्ध इंग्लिस प्रिमियर लिगमा ३–१ गोलको जित निकाल्दा पनि उनी मैदान बाहिर नै थिए।
गएको सोमबार मात्रै इंग्लिस प्रिमियर लिगका खेलाडी र स्टाफ गरी १० खेलाडीमा कोरोना भाइरस संक्रमण देखिएको रिपोर्ट बाहिर आएको थियो। लिगमा यो अहिलेसम्मकै सबैभन्दा बढी संक्रमण हो। लिभरपुलले भने थियागोको स्वास्थ्य अवस्था सामान्य रहेको र सुधार भइरहेको बताएको छ।
आउँदो शुक्रबार काराबाओ कपमा लिभरपुलले आर्सनलसँग प्रतिस्पर्धा गर्दै छ। त्यस्तै, सोमबार एस्टन भिल्लासँग प्रिमियर लिगको खेल खेल्ने तालिका छ। तर थियागोले यो दुवै खेल गुमाउने छन्।
२९ वर्षीय थियागो यसै सिजनमा जर्मन क्लब बायर्न म्युनिकबाट लिभरपुल आएका हुन्। उनले चेल्सीविरुद्धको खेलमा लिभरपुलबाट डेब्यु गरेका थिए। च्याम्पियन्स लिगको उपाधि बायर्नले जित्दा थियागोको भूमिका निकै प्रभावकारी थियो।
 
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।