काठमाडौं– डिफेन्डिङ च्याम्पियन लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार तेस्रो जित निकालेको छ। सोमबार राति भएको खेलमा लिभरपुलले आर्सनललाई ३–१ गोलअन्तरले पराजित गरेको हो।
लिभरपुलको जितमा साडियो माने, एन्ड्रेव रोबर्टसन र डियगो जोटाले गोल गरे। यता, आर्सनलका लागि भने एलेक्सजेन्डर लुकाजेटले गोल फर्काए। खेलमा सुरुवाती अग्रता भने आर्सनलले लिएको थियो। खेलको २५औं मिनेटमा लुकाजेटले गोल गर्दै घरेलु टिम लिभरपुलविरुद्ध आर्सनलले १–० गोलको अग्रता बनायो।
खेलको २८औं मिनेटमा मानेले गोल गरेपछि लिभरपुलले आर्सनलविरुद्ध १–१ गोलको बराबरी बनाएको थियो। खेलको ३४औं मिनेटमा रोबर्टसनले गोल गर्दै लिभरपुललाई २–१ गोलको अग्रता लियो। पहिलो हाफमा २–१ गोलअन्तरले अघि रहेको लिभरपुलले दोस्रो हाफमा थप एक गोल गर्दै स्पष्ट जित निकालेको हो। ८८औं मिनेटमा जोटाले गोल गर्दै लिभरपुललाई ३–१ गोलको जित दिलाए।
जारी प्रिमियर लिगमा लिभरपुलको लगातार यो तेस्रो जित हो। यसअघि भएका खेलमा लिभरपुलले लिड्स युनाइटेडलाई ४–३ र चेल्सीलाई २–० गोलअन्तरले पराजित गरेको थियो।
 
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।