काठमाडौं– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बलात्कारका घटनामा मेलमिलाप गराउने, पञ्चायती बस्ने कार्यमा संलग्नहरुलाई पनि मतियारको रुपमा पक्राउ गरी कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्।
बलात्कारका घटनामा संलग्नलाई कारवाहीको माग गर्दै सोमबार गृहमन्त्रालयमा ज्ञापनपत्र बुझाउन आएको अखिल नेपाल महिला संघ (अनेमसंघ)का प्रतिनिधिमण्डल र बझाङ जिल्लाका जनप्रतिनिधिमण्डलसँगको संयुक्त भेटमा गृहमन्त्री थापा बलात्कारजस्तो जघन्य अपराधमा मिलापत्र गराउनु ठूलो अपराध भएको टिप्पणी गरे।
उनले यस्तो मिलापत्र गराउनेहरुलाई कारबाहीको सुनिश्चितता विद्यमान कानुनले गरेको बताउँदै आवश्यक परे थप कडा कारबाहीको प्रावधान राख्न कानुन संसोधन गरिने बताए।
गृहमन्त्री बादलले बलात्कारका घटना समाजका लागि लज्जाको विषय भएको भन्दै यस्ता घटना रोक्न सरकार संवेदनशील र गम्भीर रहेको बताए।
सो क्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले पछिल्ला दिनमा भएका बलात्कारका घटनामा संलग्न अधिकांश आरोपीहरु प्रहरीले पकाउ गरिसकेको जानकारी दिँदै मिलाउपत्र गराउने कार्यमा संलग्नसमेतलाई कारबाही अघि बढाएको बताए।
ज्ञापनपत्र बुझाउँदै अनेमसंघका संयोजक अमृता थापाले पछिल्ला दिनहरुमा महिला हिंसा र बलात्कारका घटना बढेको भन्दै त्यस्ता घटनामा संलग्नलाई कारबाही, पिडीतलाई उपचार, सुरक्षा र क्षतिपुर्तिको व्यवस्था गर्नुपर्ने माग राखिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।