काठमाडौं– लेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार तेस्रो जित निकालेको छ। आइतबार राति भएको खेलमा लेस्टरले म्यान्चेस्टर सिटीमाथि फराकिलो जित दर्ता गरेको हो।
लेस्टरले म्यान्चेस्टर सिटीकै मैदानमा ५–२ गोलको जित निकाल्यो। लेस्टर सिटीको जितमा जेमी भर्डीले ह्याट्रिक गोल गरे। त्यस्तै, जेम्स मेडिसन र यउरी टिलेमन्सले गोल गरे। म्यान्चेस्टर सिटीका लागि रियाद महरेज र नाथन आकले गोल गरे।
खेलको चौथो मिनेटमा नै महरेजले गोल गर्दै म्यान्चेस्टर सिटीलाई अग्रता दिलाएका थिए। तर खेलको ३७औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै भर्डीले लेस्टरलाई पहिलो हाफसम्म १–१ गोलको बराबरी दिलाए। खेलको ५३औं र ५८औं मिनेटमा गोल गर्दै भर्डीले ह्याट्रिक पूरा गर्दा लेस्टरले म्यान्चेस्टर सिटीमाथि ३–१ गोलको अग्रता लियो।
खेलको ७७औं मिनेटमा मेडिसनले गोल गर्दै लेस्टरलाई ४–१ गोलको अग्रता दिलाए। तर खेलको ८४औं मिनेटमा नाथनले गोल गर्दै म्यान्चेस्टर सिटीलाई ४–२ गोलको स्थितिमा ल्याए। खेलको ८८औं मिनेटमा पेनाल्टीबाट टिलेमन्स गोल गरेपछि लेस्टरले म्यान्चेस्टर सिटीलाई ५–२ गोलको फराकिलो अन्तरले पराजित गरेको हो।
यो जितसँगै लेस्टरले तीन खेलबाट ९ अंक बनाएको छ। आफ्नो दोस्रो खेलमा हार ब्यहोरेको म्यान्चेस्टर सिटीको भने दुई खेलबाट तीन अंक छ।
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।