काठमाडौं- प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिओलाले फुटबलमा खेलाडीहरुको अवस्थामा कुनै वास्ता नहुने गरेको भन्दै चिन्ता गरेका छन्। चोटकै कारण आइतबार राति ९ः१५ बजे हुने लेस्टरसँगको खेलमा सिटीका सिनियर १३ खेलाडी मात्र फिट छन्।
‘कसैलाई पनि खेलाडीहरुको वास्ता छैन, खेल व्यापार मात्र भइरहेको छ’, व्यस्त खेल तालिका र आरामको समय कम भएको भन्दै गार्डिओेलाले भनेका छन्, ‘म्यान सिटीको मात्र कुरा होइन, अरु क्लब र राष्ट्रिय टिमको खेलमा समेत विचार गरिएको छैन। प्रिमियर लिग, युइएफए, इएफएल सबैलाई आफ्नो व्यापारकै वास्ता छ।’
गएको हप्तादेखि अक्टोवर ३१ सम्ममा लिग र कप खेलमा गरेर सिटीले आठ खेल खेल्नुपर्ने छ। अक्टोवरमा नै केही खेलाडीहरु राष्ट्रिय टिमबाट अन्तर्राष्ट्रिय खेलमा समेत सहभागी हुनुपर्ने छ। त्यसअघि गएको महिना मात्र दुई खेल च्याम्पियन्स लिगमा खेलेको सिटीमा चोटको समस्या बढीरहेको हो।
आइतबार लेस्टरविरुद्धको खेलमा चोटका कारण फरवार्ड गार्बियल जिसस टिमबाहिर हुनेछन्। चोटका कारण उनी कम्तिमा तीन हप्ता मैदानबाहिर हुनेछन्। यस्तै सर्जियो अग्युरो पनि चोटमा नै छन्। उनी सात हप्ता मैदानबाहिर हुने अनुमान गरिएको छ।
यी दुईसँगै बर्नान्डो सिल्भा, जाओ क्यान्सेलो, अलेक्जेण्डर जिन्चेन्को पनि चोटका कारण नै बाहिर छन्। साथै एमेरिक लापोर्ते र इकाए गुन्डोगन कोरोना संक्रमण देखिएका कारण अहिले टिममा छैनन्।
‘खेलाडीहरुको लागि अहिले जम्मा दुई हप्ताको प्रि सिजन समय रह्यो, अब त उनीहरुले हरेक तीन दिनमा खेल खेल्नुपर्ने छ, त्यो पनि ११ महिनासम्म। अहिलेको सयम सबैका लागि कठिन समय हो भन्ने मैले बुझेको छु, सबै संकटमा नै छन्। त्यसैले हामी पनि उही अवस्थामा छौँ, सक्दो राम्रो गरेर खेल्नुको विकल्प हामीसँग छैन’ गार्डिओलाले भनेका छन्।
प्रिमियर लिगमा पहिलो खेलमा वुल्भ्सलाई ३–१ ले हराएको सिटीको आइतार राति लेस्टरसँग दोस्रो खेल हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।