काठमाडौं– डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा जित निकालेको छ। रियल मड्रिडले रियल बेटिसलाई ३–२ गोलको संघर्षपूर्ण जित निकालेको हो।
शनिबार राति भएको खेलमा रियलले यो सिजनमा आफ्नो दोस्रो खेलमा पहिलो जित निकालेको हो। यसअघि रियल मड्रिडले आफ्नो पहिलो खेलमा भने रियल सोसाइडेडसँग गोलरहित बराबरी खेलेको थियो। रियल मड्रिडको जितमा को जितमा कप्तान सर्जियो रामोस र फेडेरिको भालभर्डेले गोल गरे। रियल बेटिसका इमरसनले आत्मघाति गोल गर्दा रियल मड्रिडले एक गोल भने उपाहार स्वरुप पाएको थियो। रियल बेटिसका लागि भने असा मान्दी र विलियम कार्भाल्होले गोल गरे।
खेलको १४औं मिनेटमा फेडेरिकोले गोल गर्दै रियल मड्रिडलाई अग्रता दिलाए। खेलको ३५औं मिनेटमा मान्दीले गोल गर्दै रियल बेटिसलाई १–१ गोलको बराबरीमा ल्याए। त्यसको दुई मिनेटपछि विलियमले गोल गर्दै रियल बेटिसलाई पहिलो हाफसम्म २–१ गोलको अग्रता दिलाए।
खेलको ४८औं मिनेटमा भने रियल बेटिसका इमरसनले आफ्नै पोष्टमा गोल गर्न पुग्दा रियल मड्रिडले २–२ गोलको बराबरी बनायो। खेलको ६७औं मिनेटमा रियल बेटिसका इमरसन रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित भएको थियो। खेलको ८२औं मिनेटमा भिडियो असिस्टेन्ट रेफ्रिबाट रियल मड्रिडले पेनाल्टीको अवसर पायो। पेनाल्टीबाट कप्तान रामोसले गोल गर्दै रियल मड्रिडलाई ३–२ गोलको जित दिलाएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।