काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार बेलुका भएको खेलमा म्यानचेस्टर युनाइटेडले ब्राइटनलाई ३-२ ले हराएको छ। पहिलो हाफ १-१ बराबरी भएको खेलमा दोस्रो हाफमा तीन गोल भएको हो। अतिरिक्त समयमा मात्रै दुबै टिमले १-१ गोल गरे।
खेलमा ४०औँ मिनेटमा पाएको पेनाल्टीमा माउपेले गोल गर्दै ब्राइटनलाई अग्रता दिलाएका थिए। त्यसको तीन मिनेट पछि नै डन्कको आत्मघाती गोलपछि म्यानचेस्टर युनाइटेड बराबरीमा पुगेको थियो। खेलको ५५औँ मिनेटमा म्यानचेस्टर युनाइटेडका ब्रुनो फर्नान्डेसको पासलाई उत्कृष्ट रुपमा अघि बढाउँदै रासफोर्डले गोल गरे।
पहिलो हाफदेखि नै ब्राइटन अट्याकमा बढिरहेको थियो। दोस्रो हाफमा पनि ब्राइटनले केही राम्रा अवसर खेर फाल्यो भने दुई प्रहार पोस्टमा लागेर फर्किएको थियो। खेलमा दबाब बनाइरहेको ब्राइटनका लागि अतिरिक्त समयको अन्तिम मिनेटमा मार्चले गोल गर्दै बराबरी बनाएका थिए। तर म्यानचेस्टर युनाइटेडले अतिरिक्त समयमा नै पाएको पेनाल्टीमा ब्रुनो फर्नान्डेसले गोल गर्दै जित दिलाए।
यसअघि गएको हप्ता क्रिस्टल प्यालेससँग ३-१ ले पराजित भएको म्यानचेस्टर युनाइटेडको लिगमा यो पहिलो जित हो। त्यसअघि मैत्रीपूर्ण खेलमा समेत म्यानचेस्टर युनाइटेड एस्टन भिलासँग १-० ले पराजित भएको थियो।
प्रिमियर लिगमा शनिबार नै क्रिस्टल प्यालेस र इभर्टन, वेस्ट ब्रुम र चेल्सी, ब्रन्ली र साउथह्याम्पटनबीच पनि खेल हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।