काठमाडौं- स्पेनिस क्लब सेभिया युइएफए सुपर कपमा जर्मन क्लब बायर्न म्युनिकसँग २–१ ले पराजित भयो। अतिरिक्त समयमा पुगेको खेलमा हारपछि पनि सेभियाको सम्हालिएको खेलको तारिफ भइरहेको छ।
प्रशिक्षक जुलेन लोपेटेगीको प्रशिक्षणमा सेभियाले युरोपियन च्याम्पियन बायर्न म्युनिकलाई प्रतिस्पर्धा दिएरै खेल्न सक्यो। यसले यो सिजन ला लिगामा समेत प्रतिस्पर्धा रोचक हुने अनुमान सुरु भएका छन्। रियल मड्रिड, बार्सिलोना, एथ्लेटिको मड्रिडसँगै सेभियाले ला लिगा उपाधिका लागि कडा टक्कर दिने अनुमान खेलअनुसार सुहाउँदो पनि देखिन्छ।
गएको सिजन युरोपा लिगको उपाधि जितेको सेभिलयाले रोमा, वुल्भ्स, म्यानचेस्टर युनाइटेड र फाइनलमा इन्टर मिलानलाई हराएको थियो। २००६, २००७, २०१४, २०१५, २०१६ र २०२० मा युरोपा लिग फाइनल पुगेर सबै उपाधि जित्न सकेको सेभिया युरोपियन फुटबलमा दरिएकै टिम हो।
यसैले बिहीबार राति सुपर कपको फाइनलमा बायर्नविरुद्धको खेल पनि सेभियाका लागि सम्झनलायक बन्यो। जेसस नाभासले राइट ब्याकदेखि फरवार्ड लाइनसम्म बढेर सम्हालिएर खेले। इभान राकिटिकविरुद्धको फोउलमा पेनाल्टी पाउँदा नाभासले नै क्रस बल फालेका थिए।

सन् २०१४ पछि सेभियामा फर्किइका इभान राकिटिकका लागि पनि खेल विशेष बन्यो। बार्सिलोनामा रहँदा ८–२ ले हारेको टिमविरुद्ध सेभियाको नजिकको प्रदर्शन उनका लागि फलदायी नै बन्यो। खेलमा ठूलो प्रभाव देखाउन नसके पनि एकमात्र गोलका लागि पाएको पेनाल्टीमा कारक उनी नै थिए।
खेलको १३औँ मिनेटमा पाएको पेनाल्टीमा लुकास ओकाम्पसको गोलमार्फत सेभियाले अग्रता बनाएको थियो। ३४ औँ मिनेटमा बायर्नका लागि लियोन गोर्तेज्काले बराबरी गोल फर्काए। अतिरिक्त समयमा पुगेको खेलमा १०४ औँ मिनेटमा जाभी मार्टिनेजको गोलमा बायर्न विजयी भयो।
खेलको ८७ औँ मिनेटमा युसुफ एन नेसरीले पाएको अवसर सदुपयोग गरेका भए खेलको कथा अर्कै हुने थियो। बायर्न किपर म्यानुअल नियोरसँगको वान भर्सेस वानको अवसरमा गोलकिपरकै जित भयो। नियोरले राम्रो बचाउ गरे। उस्तै अवस्था अतिरिक्त समयको सुरुवातमा पनि देखिएको थियो।

बुडापेस्टमा १५ हजार १८० जना दर्शकसहित खेलिएको खेलमा बलियो टिमविरुद्ध सेभियाले जे देखाउन सक्यो त्यसमा प्रशिक्षक लोपेटेगीका लागि खुसीको क्षण नै हुनुपर्छ। विश्वकपको मुखमा स्पेनको प्रशिक्षण छाड्नुपर्दा र रियल मड्रिडमा समेत सफल हुन नसक्दा लोपेटेगीका लागि सेभिया आफ्नो योजनामा फर्कने अवसर हो।
गएको सिजन नै ला लिगामा सेभिया चौथो स्थानमा थियो। यसपटक शीर्षका तीन क्लबलाई अझ प्रतिस्पर्धा दिन सक्नेमा लोपेटेगीको शैलीले काम गर्ने देखिन्छ। गएको सिजन नै तेस्रोमा रहेको एथ्लेटिको मड्रिडसँग बराबर ७० अंक बनाएको सेभियाको शैलीले शीर्षका टिमलाई यो सिजन डरको विषय पनि हो।
ला लिगामा यो सिजन सेभियाले पहिलो खेल अक्टोवरमा ४ मा बार्सिलोनाविरुद्ध खेल्दैछ। जसले ला लिगाको आगामी यात्रा कस्तो देखिनेछ भन्नेमा संकेत गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।