काठमाडौं– जर्मन क्लब बायर्न म्युनिकले युइएफए सुपर कप फुटबलको उपाधि जितेको छ। स्पेनिस क्लब सेभियालाई २–१ गोलअन्तरले पराजित गर्दै बायर्नले सुपर कपको उपाधि जितेको हो।
बायर्नलाई उपाधि दिलाउन लियोन गोरेट्जका र जाभी मार्टिनेजले गोल गरे। यता, सेभियाका लागि लुकास ओकाम्पसले गोल गरे। सुरुवाती अग्रता भने सेभियाले लिएको थियो। खेलको १३औं मिनेटमा नै लुकासले पेनाल्टीबाट गोल गर्दै सेभियालाई १–० गोलको अग्रता दिलाए। तर खेलको ३४औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको पासमा गोरेट्जकाले गोल गर्दै बायर्नलाई १–१ गोलको बराबरीमा ल्याए।
पहिलो हाफसम्म १–१ गोलको बराबरीमा खेल सकिएको थियो। निर्धारित ९० मिनेटसम्म १–१ गोलकै बराबरीमा सकिएपछि ३० मिनेटको समय थप गरिएको थियो। खेलको १०४औं मिनेटमा मार्टिनेजले गोल गर्दै बायर्नलाई २–१ गोलको जित दिलाए।
बायर्नले १५ हजारभन्दा बढि दर्शकसामु दोस्रो पटक सुपर कपको उपाधि उचालेको हो। यसअघि बार्यनले २०१३ मा चेल्सीलाई पेनाल्टीमा पराजित गर्दै पहिलो पटक सुपर कपको उपाधि उचालेको थियो।
कोरोना भाइरस (कोभिड–१९) को कारण बन्द रंगशालामा खेल्दै आएकोमा यस पटक भने दर्शकसहितको रंगशालामा खेल खेलाइएको थियो। हंगेरीको पुस्कास एरिनामा भएको खेलमा दर्शक क्षमता ६७ हजार भएपनि १५ हजार एक सय ८० जना दर्शकलाई मात्रै मैदानमा प्रवेश दिइएको थियो। यसअघि अगष्ट २४ तारिखमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १–० गोलअन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको उपाधि बायर्नले जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।