काठमाडौं–लिभरपुलले इएफएल कप फुटबलको तेस्रो चरणको खेलमा फराकिलो जित दर्ता गरेको छ। बिहीबार राति भएको खेलमा लिभरपुलले लिंकन सिटीलाई ७–२ गोलअन्तरले पराजित गरेको हो।
लिभरपुलको फराकिलो जितमा टाकुमी मिनामिनो र कर्टिस जोन्सले समान २–२ गोल गरे। त्यस्तै, जद्रान शकिरी, मार्को ग्रुजिक र डिभोक ओरिगीले समान १–१ गोल गरे। यता लिंकनका टायो इडुन र लेविस मोन्टस्माले गोल फर्काए।
खेलको नवौं मिनेटमा शाकिरीको गोलबाट अग्रता लिएको लिभरपुलका लागि १८औं मिनेटमा मिनामिनोले गोल गर्दै २–० को अग्रता दिलाए। ३२औं र ३६औं मिनेटमा कर्टिसले गोल गर्दै लिभरपुललाई पहिलो हाफसम्म ४–० गोलको अग्रता दिलाए।
मिनामिनोले ४६औं मिनेटमा गोल गर्दा लिभरपुलको अग्रता ५–० मा पुग्यो। ६०औं मिनेटमा टायोले गोल गरेपछि लिंकनले ५–१ को स्थिति बनाएको थियो। तर ६५औं मिनेटमा मार्कोले गोल गर्दै लिभरपुलाई ६–१ को अग्रता दिलाए। ६६औं मिनेटमा लिंकनका लागि लेविसले गोल गरेपनि ८९औं मिनेटमा डिभोकले गोल गर्दै लिभरपुललाई ७–२ गोलको फराकिलो जित दिलाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।