काठमाडौं- ऊर्जामन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालालाई पूर्ण अधिकार लिएर काम गर्न निर्देशन दिएका छन्। भदौ २९ गते कार्यकारी निर्देशक कुलमान घिसिङले चार वर्षे कार्यकाल पूरा गरी बिदाइ भएपछि ऊर्जामन्त्री वर्षमान पुनले कोइरालालाई यस्तो निर्देशन दिएका हुन्।
‘पूर्ण अधिकार प्रयोग गरी काम गर्नूहोस्। ठूलै समस्या आए तत्काल मन्त्रालयमा जानकारी दिनूहोस्,' मन्त्री पुनले भने, 'जनता हाम्रा ग्राहक हुन्, ग्राहकका गुनासा तत्काल सम्बोधन गर्नुस्।’
मन्त्री पुनले प्राधिकरणको कार्यकारी निर्देशक आउने/जाने प्रक्रिया नियमित भएको स्पष्ट गर्दै प्राधिकरणमा निवर्तमान कार्यकारी निर्देशकसँगै बसेर राम्रो काम गरेको टिममाथि नै प्रश्न उठाएकाले ती प्रश्नका जवाफ कामबाटै दिन आग्रह गरे।
आफूले कुलमान घिसिङलाई पुनः कार्यकारी निर्देशक नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको र त्यसबारे छलफल भइरहेको भन्दै मन्त्री पुनले मूल नेतृत्व नभएको महसुस नहने गरी कार्यसम्पादन गर्न निर्देशन दिए। ‘जति दिन निमित्त कार्यकारीका रुपमा रहनुहुन्छ। म निमित्त हुँ भन्ने सोच नराख्नुस्, तपाईं अर्को व्यवस्था नहओउञ्जेलसम्मका लागि पूर्ण अधिकारसहितको कार्यकारी हुनुहुन्छ’, मन्त्री पुनले कोइरालालाई भनेका थिए।
मन्त्री पुनले नियमित विद्युत सेवा पाइरहेका जनताले सेवा अनियमित हुँदा गरेको गु्नासालाई नकारात्मक रुपमा नलिन, नियमित विद्युत पाउनु जनताको अधिकार हो भन्ने ख्याल गरेर काम गर्न र छिटोभन्दा छिटो गुनासाहरुको सम्बोधन गर्न समेत उनलाई निर्देशन दिएका थिए।
कोइरालासहित आधा दर्जन बढी उपकार्यकारी निर्देशकहरुलाई बिहीबार मन्त्रालयमा बोलाएर समस्या तत्काल सम्बोधन गर्न निर्देशन दिएको मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले नियमित विद्युत पाइरहेका जनता समस्यामा पर्दा शंकाको आँखाले हेर्नु स्वाभाविक भएको बताएका थिए।
प्राधिकरणका निमित्त कार्यकारी निर्देशक कोइरालाले खराब मौसमका कारण समस्या आएको भन्दै मौसममा सुधार आएसँगै धेरै हदसम्म समस्या आफैं समाधान भएर जाने जानकारी दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।