काठमाडौं- आपराधिक लाभ, बम बिस्फोट र संगठित अपराध मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाराको परवानीपुर गाउँपालिका १० का ३६ वर्षीय को कपिलदेव महतो छन्।
महतोलाई इलाका प्रहरी कार्यालय प्रसौनी बारा र इलाका प्रहरी कार्यालय परवानीपुर बाराबाट खटिएको प्रहरी टोलीले गएराति १० बजे उनकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
महतोसहित परवानीपुर गाउँपालिका ४ का ३१ वर्षीय प्रमोद साह गोढ, सोही ठाउँका २० वर्षीय देव शंकर राम, जीतपुरसिमरा उपमहानगरपालिका २० का २० वर्षीय अच्छेलाल गोसाई र फेटा गाँउपालिका ३ का ३९ वर्षीय दिपेन्द्रकुमार धानुकको समूहले धम्क्याउँदै रकम असुल्ने गरेको थियो। पछिल्लो समय परवानीपुर ४ मा रहेको एक ईंटा उद्योगका सञ्चालकलाई धम्क्याउँदै उनीहरुले १५ लाख रुपैयाँ माग गरेका थिए।
फिरौती रकम दिन अस्विकार गरेपछि गत वर्षको कात्तिक ४ गते उनीहरुले उक्त इटा उद्योगमा बम विस्फोट गराएका थिए। विस्फोटपछि इटा उद्योगका सञ्चालकलाई फोन गरेर फिरौती रकम दिनू नत्र परिवार नै खतम गरिदिन्छु भन्दै धम्की दिएका थिए।
उक्त सूचना प्रहरीकहाँ पुगिसकेको थियो। प्रहरीकै योजनाअनुसार मंसिर २५ गते फिरौती वापतको ३ लाख रुपैयाँ दिने भन्दै परवानीपुर- ४ कै चैनपुरमा इटा उद्योगका सञ्चालकले बोलाएपछि रकम लिन पुगेका उनीहरुलाई प्रहरीले त्यसबेलै पक्राउ गरेको थियो। महतो भने त्यसबेलैदेखि फरार थिए।
यसअघि पक्राउ परेकाहरु पुर्पक्षका लागि जेल चलान भइसकेका छन्। उनलाई पनि कारबाहीका लागि जिल्ला अदालत पेश गरिने प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।