सांकेतिक तस्बिर
काठमाडौं- कोभिड-१९ संक्रमणबाट निको भएका व्यक्तिहरुले प्लाज्मा दान अभियान शुरु गरेका छन्। कोभिड १९ संक्रमणबाट निको भएपछि प्लाज्मा दान गरी थप चार जना सम्म संक्रमितको जीवनरक्षा गर्न सकिने भन्दै संक्रमण निको भएका व्यक्तिहरुले बुधबार देखि प्लाज्मा दान अभियान शुरु गरेका हुन्।
काठमाडौंको त्रि.वि शिक्षण अस्पतालमा पुगेर कोभिड-१९ संक्रमण निको भएका व्यक्तिहरुले प्लाज्मा दान अभियानको शुरुवात गरेका हुन्। उनीहरुले ‘मैले जिते कोरोना म गर्छु (प्लाज्मा) रक्तदान’ भन्ने नारा सहित प्लाज्मा दानको अभियानलाई अगाडि बढाएका छन्।
कार्यक्रममा त्रि.वि.शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले कोभिड संक्रमणबाट मृत्युसँग लडिरहेका बिरामीको जीवन बचाउन प्लाज्मा थेरापीले मद्दत गर्ने भएकाले प्लाज्मा दान अभियान शुरु गरिएको बताए।
प्लाज्मा संकलनका लागि अस्पतालमा प्लाज्मा बैंकको स्थापना गरिएको पनि उनले बताए। कार्यक्रममा कोभिड १९ संक्रमणबाट निको भएका व्यक्तिहरुले संक्रमितहरुको अत्मबल बलियो भए सजिलै भाइरसलाई जित्न सकिने बताएका थिए।
उनीहरुले संक्रमणबाट गम्भिर अवस्थामा पुगेका बिरामीको उपचारका लागि प्लाज्मा थेरापी महत्वपूर्ण हुने भएकाले आफूहरुले प्लाज्मा दान अभियानको शुरुवात गरेको बताए। ‘मिल्नेले दान गरौं नमिल्नेले उत्प्रेरित गरौं। सबै लागौं सँगसँगै लागौं’ भन्दै अभियान शुरु गरिएको अभियानका संयोजक प्रकाश भुजेलले बताए।
पछिल्लो समय प्लाज्मा थेरापीबाट कोभिड १९ संक्रमितको उपचार देशका धेरै अस्पतालले गरिरहेका छन्। सरकारले पनि परीक्षणको रुपमा बिरामीको स्वीकृति लिएर उपचार गर्न सक्ने व्यवस्था गरेको छ। यो अभियानलाई देशैभर सञ्चालन गर्नेपनि भुजेलको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।