काठमाडौं- इंग्लिस क्लब चेल्सीका डिफेन्डर थियागो सिल्भा प्रिमियर लिगमा हुने तीब्रताले आफूलाई कुनै समस्या नपार्ने र त्यसको चिन्तामा नरहेको बताएका छन्। फ्रेन्च क्लब पिएसजीबाट भर्खरै चेल्सी गएका ३६ वर्षका उनले आफ्नो उमेरका कारण खेलमा समस्या नपर्ने बताएका हुन्।
काराबाओ कप अन्तर्गत बुधबार राति साढे १२ बजे ब्रान्स्लेसँगको खेलमा सिल्भा खेल्ने तय भएको छ। उनी प्रिमियर लिगमा यसअघि भएका ब्राइटन र लिभरपुलसँगको खेलमा भने सहभागी भएका थिएनन्।
‘उमेर भनेको तपाइँको प्रमाणपत्रमा रहने एउटा अंक न हो। मलाई प्रिमियर लिगमा हुने तीब्रतालाई लिएर कुनै चिन्ता छैन’, उनले भनेका छन्, ‘म शारीरिक रुपमा निकै युवा महसुस गरिरहेको छु र खेलका लागि तयार पनि छु। मलाई चिन्नेहरुलाई थाहा छ, म खेलमा कति महेनत गर्छु।’
चेल्सी प्रशिक्षक फ्रान्क लामपार्डले दिएको यो जिम्मेवारी आफ्ना लागि ठूलो महत्वको भएकाले उनको विश्वास गिर्न नदिने सोच रहेको पनि सिल्भाले सुनाएका छन्।
गएको सिजन चेल्सीको डिफेन्स निकै कमजोर भएको भनेर आलोचना भइरहेको थियो। हुन पनि प्रिमियर लिगको शीर्ष १० मा रहेका टिममा गएको सिजन सबैभन्दा धेरै गोल चेल्सीले नै खाएको थियो। अहिले सिल्भाको आगमनले पनि त्यो अवस्था फेरिने विश्वासमा चेल्सी समर्थक छन्।
पिएसजीमा रहँदा सात लिग वान उपाधिका साथै गएको च्याम्पियन्स लिग फाइनलमा टिमलाई लैजानुमा सिल्भाको खेल विशेष मानिएको थियो। फाइनलमा बायर्न म्युनिकसँग १–० ले पराजित भए पनि पिएसजीको इतिहासमा त्यो च्याम्पियन्स लिगमा सबैभन्दा ठूलो सफलता हो।
‘म अलि उमेर पुगेको खेलाडीका रुपमा चेल्सी आइपुगेको छु, त्यसैले टिमले मेरो जस्तो अनुभव भएको खेलाडी नै चाहेको बुझेको छु। इभर्टन प्रशिक्षक कार्लो एन्सेलोटीले भनेजस्तो छिटो दौडने खेलाडी चाहिँदा उसेन बोल्टलाई ल्याउँदा हुन्छ होला। नयाँ युवा खेलाडीहरुलाई टिममा मद्धत गर्न पाउनु मेरा लागि विशेष हुनेछ’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।