काठमाडौं–पोखरामा बाघको छाला तथा सालकको खपेटासहित एक युवक पक्राउ परेका छन्। पोखरा ३१ बनपोखरीबाट १ थान बाघको छाला, १ थान सालकको खपेटा र करिब ३ किलो ७ सय ५० ग्राम बाघको जस्तो देखिने हाड, खुट्टा तथा पञ्जासहित धादिङ गल्छी गाउँपालिका ४ घर भएका २८ वर्षीय सन्तोष लामिछानेलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो।
उक्त स्थानमा वन्यजन्तुको आखेटोपहार अवैध ओसारपसार तथा कारोबार भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। शिशुवाबाट बनपोखरीतर्फ जाँदै गरेको प्रदेश ३–०२–०११ प ७८०६ नम्बरको मोटरसाइकललाई जाँच गर्दा उक्त आखेटोपहारसहित लामिछाने पक्राउ परेका हुन्।
बरामद सामानसहित उनलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय कास्की पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।