काठमाडौं- स्पेनिस क्लब बार्सिलोना स्ट्राइकर लुइस स्वारेजलाई प्रतिस्पर्धी क्लब एथ्लेटिको मड्रिडमा पठाउन तयार भएको छ। एथ्लेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमोनसँगको सिधा कुराकानीमा स्वारेज एथ्लेटिको जाने सहमति नजिक पुगेका हुन्, जसमा बार्सिलोनाले आनाकानी गरिरहे पनि अन्ततः सहमति जनाएको छ।
स्वारेज लैजानका लागि नै एथ्लेटिकोले अल्भारो मोराटालाई लोनमा इटालियन क्लब युभेन्टसमा पठाइसकेको छ। बार्सिलोनाले स्वारेजलाई क्लबमा राख्न नचाएको भए पनि प्रतिस्पर्धी क्लबमा नजाओस् भन्ने सोचले मुस्किल बनाइरहेको थियो।
बार्सिलोना अध्यक्ष जोसेप मारिया बर्टामेउले एथ्लेटिको मड्रिड नजानेगरी स्वारेजसँग सहमति गर्न चाहिरहे पनि स्वारेजका एजेन्टसहितको बैठकमा समस्या पारेमा सार्वजनिक रुपमा मिडियामा बोल्ने भनाइपछि बार्सिलोना उनलाई एथ्लेटिको मड्रिड पठाउन तयार भएको हो। बार्सिलोनासँग सम्झौता सकिन एक वर्ष बाँकी हुँदै सम्झौता अन्त्य गर्ने सहमति भए पनि लिखित रुपमा क्लबसँग उनको सम्झौता हुन बाँकी नै छ।
यो सिजन बार्सिलोनामा नयाँ प्रशिक्षकका रुपमा रहेका रोनाल्ड कोम्यानले स्वारेज आफ्नो योजनामा नरहेको सुरुदेखि बताएका थिए। जसले गएको सिजन क्लबका लागि लियोनल मेस्सीपछि सर्वाधिक गोल गरेका स्वारेज क्लब छाड्ने मनस्थितिमा पुगेका हुन्। युभेन्टस जाने हल्ला चलिरहँदा पासपोर्टका कारण त्यो सम्भव भएन, जसले उनलाई लाने इच्छा देखाइरहेको एथ्लेटिको मड्रिड नै गन्तव्य हुने भएको छ।
स्वारेज सन् २०१४ मा प्रिमियर लिग क्लब लिभरपुलबाट ७४ मिलियन पाउण्डमा बार्सिलोना गएका थिए। बार्सिलोनामा स्वारेजले चार ला लिगा उपाधि, चार कोपा डेल रे, दुई सुपर कोपा, एक च्याम्पियन्स लिग, एक युइएफए सुपर कप र एक फिफा क्लब विश्वकप जितेका छन्। ला लिगामा क्रिष्टियानो रोनाल्डो र मेस्सीको समयमा समेत वर्ष उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता बनेका स्वारेज अझै केही वर्ष युरोपियन फुटबलमा नै रहन चाहन्छन्।
गएको सिजन बार्सिलोनामा स्वारेजले ३६ खेलमा २१ गोल र १२ असिस्ट गरेका थिए। समग्रमा बार्सिलोनामा २ सय ८३ खेल खेलेका स्वारेजले १ सय ९८ गोल र १ सय ९ असिस्ट गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।