काठमाडौं- प्रहरीले जबरजस्ती नियन्त्रणमा लिएर ट्रमा सेन्टर पुर्याएका अनशनरत डा. गोविन्द केसीले कुनै प्रकारको परीक्षण तथा उपचारका स्वीकार नगर्ने अडान लिएका छन्। केसीले आफू टिचिङ जाने भनेकोमा जबरजस्ती राष्ट्रिय ट्रमा सेन्टरमा ल्याएको भन्दै उनले अडान लिएका हुन्।
ट्रमामा ल्याएपछि डा. केसीको स्वास्थ्य परीक्षणका लागि वीर अस्पतालबाट चिकित्सकहरुलाई बोलाइएको थियो। तर डा. गोविन्द केसीले विमानस्थलमा ओर्लिएर शिक्षण अस्पताल जान भनेर एम्बुलेन्स चढेपनि आफूलाई प्रहरीहरुले अपहरण शैलीमा ट्रमा सेन्टर ल्याएको भन्दै उपचार नलिने बताएका हुन्।
उनको भिडियोमा उनले सरकारकै निर्देशनमा आफूलाई प्रहरीहरुले अपहरण गरेर ट्रमा सेन्टरमा ल्याएको प्रतिक्रिया दिएका छन्। डा. केसीले आफूलाई शिक्षण अस्पताल नलगेसम्म कुनै पनि प्रकारको परीक्षण नगर्न नदिने र उपचार पनि स्वीकार नगर्नेसमेत बताएका छन्।
‘मलाई शिक्षण अस्पताल नलगेसम्म म रगत, पिसाब केहीको पनि जाँच गर्न दिन्नँ। रक्तचाप र ज्वरो समेत पनि नाप्न दिन्नँ,’ उनले भने, ‘यो प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा गरिएको होला।’
डा. गोविन्द केसीलाई ट्रमामा पुर्याउनु अघि प्रहरीले अस्पताललाई केही जानकारी दिएको थिएन। 'म टिचिङ अस्पताल जाने भनेको हुँ। एनएमीका मानिसले पठाएका थिए। ‘म टिचिङ जान्छु भन्दा भन्दै मलाई यता ल्याइयो,’ केसीले भने, ‘ओर्लिन नमान्दा म माथि प्रहरीले तानेर यहाँ ल्याए। ओलीको निर्देशन होला। टिचिङ अस्पतालको डिन र निर्देशकको निर्देशन होला।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।