काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा)ले अन्तर विद्यालय लिग फुटबलमा सहभागिता जनाउनका लागि विद्यालयहरुलाई आह्वान गरेको छ।
एन्फाले मंसिरको दोस्रो साताबाट सुरु हुने गरी विद्यालय लिग फुटबल प्रतियोगितामा सहभागि हुन विद्यालयहरुलाई आह्वान गरेको छ। तर यसमा काठमाडौं उपत्यकाका तीन र काभ्रे जिल्लाका विद्यालयहरुले मात्रै प्रतियोगितामा सहभागी हुन पाउने छन्। त्यस्तै, यो प्रतियोगितामा १५ वर्ष मूनिका खेलाडीहरु हुनु पर्ने छ।
एन्फाले सूचना जारी गर्दै १५ वर्ष मूनिको यो प्रतियोगितामा विभिन्न मापदण्ड तोकेको छ। प्रत्येक विद्यालयको ३५ देखि ५० मिटरको चौडाई र ७० देखि १०० मिटरको लम्बाई भएको मैदान हुनुपर्ने छ। विद्यालयको आफ्नै यू–१५ टिम हुनु पर्नेछ। जसमा कम्तिमा २३ र बढिमा ३० खेलाडी हुनुपर्ने उल्लेख गरेको छ।
विद्यालयले एएफसी सी लाइसेन्स प्राप्त गरेको प्रशिक्षक राखेको हुनु पर्ने र विद्यालयले आफ्नै मैदानमा होम खेल गर्न सक्ने हुनुपर्ने मापदण्ड एन्फाले तोकेको छ। सबै मापदण्ड पूरा भएका विद्यालयले सूचना जारी भएको मितिदेखि १५ दिनभित्र एन्फा सचिवालमा आवेदन दिन पनि एन्फाले आह्वान गरेको छ।
एन्फाले मंसिरमा प्रतियोगिता आयोजना गर्ने भनेर मिति तोके पनि नेपालमा बढ्दै गएको कोरोना भाइरस (कोभिड–१९) को कारणले गर्दा तोकिएकै मितिमा प्रतियोगिता सञ्चालन गर्न कठिन देखिन्छ। नेपालमा अहिले खेलकुदको अभ्यास गर्न समेत खुल्ला भएको छैन। अन्य अन्तर्राष्ट्रिय ठूला प्रतियोगिताहरु सार्नु परिरहेको अवस्थामा यो प्रतियोगिता गर्न चुनौतीपूर्ण देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।