काठमाडौं- स्पेनिस क्लब बार्सिलोनाका स्ट्राइकर लुइस स्वारेज बार्सिलोना छाडेर एथ्लेटिको मड्रिडमा जाने तयारीमा लागेका छन्। एथ्लेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमोनसँगको सिधा कुराकानीमा उनी सहमति नजिक पुगेको बताइएको छ।
स्वारेज लैजानका लागि नै एथ्लेटिकोले अल्भारो मोराटालाई लोनमा इटालियन क्लब युभेन्टसमा पठाउने तयारी गरिरहेको छ। तर बार्सिलोनाले पहिले स्वारेजलाई पठाउन चाहिरहेको भए पनि प्रतिस्पर्धी क्लबमा नजाओस् भन्ने सोचले मुस्किल बनाइरहेको देखिन्छ।
बार्सिलोना अध्यक्ष जोसेप मारिया बर्टामेउले एथ्लेटिको मड्रिड नजानेगरी स्वारेजसँग सहमति गर्न चाहिरहेको स्पेनिस सञ्चार माध्यममा खबर छन्। बार्सिलोनासँग सम्झौता सकिन एक वर्ष बाँकी हुँदै सम्झौता अन्त्य गर्ने सहमति भए पनि लिखित रुपमा क्लबसँग उनको सम्झौता हुन बाँकी नै छ।
यो सिजन बार्सिलोनामा नयाँ प्रशिक्षकका रुपमा रहेका रोनाल्ड कोम्यानले स्वारेज आफ्नो योजनामा नरहेको बताएका थिए। जसले गएको सिजन क्लबका लागि लियोनल मेस्सीपछि सर्वाधिक गोल गरेका स्वारेज क्लब छाड्ने मनस्थितिमा पुगेका हुन्। युभेन्टस जाने हल्ला चलिरहँदा त्यो सम्भव भएन, जसले उनलाई लाने इच्छा देखाइरहेको एथ्लेटिको मड्रिड नै गन्तव्य हुने देखिएको छ।

स्वारेज सन् २०१४ मा प्रिमियर लिग क्लब लिभरपुलबाट बार्सिलोना गएका थिए। बार्सिलोनामा स्वारेजले चार ला लिगा उपाधि, चार कोपा डेल रे, दुई सुपर कोपा, एक च्याम्पियन्स लिग, एक युइएफए सुपर कप र एक फिफा क्लब विश्वकप जितेका छन्। ला लिगामा क्रिष्टियानो रोनाल्डो र मेस्सीको समयमा समेत वर्ष उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता बनेका स्वारेज अझै केही वर्ष युरोपियन फुटबलमा नै रहन चाहन्छन्।
गएको सिजन बार्सिलोनामा स्वारेजले ३६ खेलमा २१ गोल र १२ असिस्ट गरेका थिए। समग्रमा बार्सिलोनामा २ सय ८३ खेल खेलेका स्वारेजले १ सय ९८ गोल र १ सय ९ असिस्ट गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।