काठमाडौं–जिल्ला प्रहरी कार्यालय स्याङ्जाको टोलीले एकैदिन ४८ फरार प्रतिवादी पक्राउ गरेको छ।
अदालतबाट दोषी ठहर गरी कैद तथा जरिवाना सुनाइएका विभिन्न कसुरका ४८ फरार प्रतिवादी एकै दिन पक्राउ गरिएको स्याङ्जाका एसपी होबिन्द्र बोगटीले बताए। कर्तव्यज्यान, हाडनाता करणी, लागुऔषध, सवारी ज्यान, चेक अनादर, अंशवण्डा, सम्बन्धबिच्छेद, कुटपिटलगायतका कसुरका ४८ जना प्रतिवादीहरु पक्राउ परेका हुन् ।
फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत स्याङ्जा प्रहरीले पछिल्लो एक महिनामा ८३ जनालाई पक्राउ गरिसकेको छ।
हाडनाता करणीमा दुई वर्ष कैद सजाय तोकिएपछि २३ वर्षदेखि फरार भएका हरिनाश गाउँपालिका–५ का ६४ वर्षीय कर्णबहादुर मह भन्ने कणबहादुर भट्टक्षेत्री, सवारी ज्यान मुद्दामा २ वर्ष कैद सजाय तोकिइ १५ वर्षदेखि फरार भएका चापाकोट नगरपालिका–१ का ६२ वर्षीय लालबहादुर लाम्जालीलगायत ४९ जनालाई एकैदिन पक्राउ गरिएको स्याङ्जा प्रहरीले जनाएको छ । पक्राउ परेकाहरु सबैलाई स्याङ्जा जिल्ला अदालतमार्फत कैद भुक्तानका लागि कारागार पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।