काठमाडौं– लेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार दोस्रो जित हात निकालेको छ। आइतबार राति भएको खेलमा लेस्टरले बर्नलीलाई ४–२ गोलअन्तरले पराजित गरेको हो।
लेस्टरको जितमा हार्भे बर्नेस, जेम्स जस्टिन र डेनिस प्राएटले गोल गरे। बर्नलीका इरिक पिटर्सले आत्मघाति गोल गर्दा एक गोल भने लेस्टरले उपाहार स्वरुप पाएको थियो। बर्नलीका लागि भने क्रिस उड र जिमी डुनले गोल फर्काए।
खेलको १०औं मिनेटमा उडले गोल गर्दै बर्नलीलाई अग्रता दिलाए। तर २०औं मिनेटमा बर्नेसले गोल गर्दै लेस्टरलाई १–१ गोलको बराबरीमा ल्याए। खेलको ५०औं मिनेटमा बर्नलीका पिटर्सले आत्मघाति गोल गर्दा लेस्टरले २–१ को अग्रता लियो। ६१औं मिनेटमा जस्टिनले गोल गर्दै लेस्टरलाई ३–१ गोलको अग्रता दिलाए। तर ७३औं मिनेटमा जिमीले गोल गर्दै बर्नलीलाई ३–२ गोलको स्थितिमा ल्याँदै खेलमा फर्काउने प्रयास गरेका थिए। ७९औं मिनेटमा डेनिसले गोल गरेपछि लेस्टर ४–२ गोलले विजयी भएको हो।
लेस्टरले पहिलो खेलमा भने वेष्टब्रुमलाई ३–० गोलअन्तरले पराजित गरेको थियो।
आइतबार राति नै भएको खेलमा न्युक्यासलमाथि ब्राइटनले ३–० गोलअन्तरको जित निकालेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।