काठमाडौं– डिफेन्डिङ च्याम्पियन लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीलाई पराजित गरेको छ। यो जितसँगै लिभरपुलले प्रिमियर लिगमा लगातार दोस्रो जित निकालेको हो।
आइतबार राति भएको खेलमा लिभरपुलको जितमा दुबै गोल साडियो मानेले गरे। १० खेलाडीमा सीमित चेल्सी आफ्नै मैदानमा पराजित भएको हो। पहिलो हाफको अन्तिम समयमा मानेलाई लडाएपछि रेफ्रिले चेल्सीका आन्ड्रेस क्रिस्टेनसेनलाई पहेँलो कार्ड दिएका थिए तर भिडियो एसिस्टेन्ट रेफ्रिको सहायताबाट रेफ्रिले उनलाई रातो कार्ड दिएपछि चेल्सी १० खेलाडीमा झरेको थियो।
पहिलो हाफमा गोलरहित बराबरी खेलेको लिभरपुलले दोस्रो हाफमा दुई गोल गरेको हो। खेलको ५०औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई १–० गोलको अग्रता दिलाए। त्यसको चार मिनेटपछि अर्को गोल थप्दै लिभरपुललाई २–० गोलको जित दिलाए।
प्रिमियर लिगमा लिभरपुलको यो लगातार दोस्रो जित हो। यसअघि पहिलो खेलमा नवप्रवेशी क्लब लिड्स युनाइटेडलाई ४–३ गोलअन्तरले हराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।