काठमाडौं-खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विभिन्न प्रकारका खाद्य वस्तुको गुणस्तर निर्धारण गरेको छ। विभागले गुँदपाक, पुष्टकारी, चिउरा, दालमोठ र भुजियाको गुणस्तर निर्धारण गरी राजपत्रमा प्रकाशित गरेको हो।
विभागले गुँदपाक र पुष्टकारीलाई दूग्ध पदार्थबाट निर्मित खाद्य वस्तुका रुपमा राखी सोहीअनुरुपको गुणस्तर निर्धारण गरेकाे छ। यी दुवै खाद्यवस्तुमा स्वाभाविक खैरो (क्यारामेल) रङ, चारित्रिक स्वाद, नरमपना र बास्ना हुनुपर्नेछ। त्यसमा कुनै पनि प्रकारको वनस्पतिको घ्यू प्रयोग नभएको र अस्वाभाविक गन्ध, स्वाद र बाह्य पदार्थको मिसावटरहित हुनुपर्नेछ।
पुष्टकारीमा हुनुपर्ने मापदण्डमा जलांश बढीमा ६ प्रतिशत, चिल्लोपदार्थ ८ प्रतिशत, एक्सट्राक्टेड फ्याट ६ प्रतिशत, प्रोटिन कम्तीमा ८ प्रतिशत, कुल भस्म (खरानी) ३ प्रतिशत, एसिडमा नघुल्ने भस्म शून्य दशमलव ३ प्रतिशत र इस्ट तथा मोल्डको गणना प्रतिग्राम बढीमा २५ प्रतिशतसम्म हुनुपर्नेछ।
त्यस्तै गुँदपाकको हकमा जलांश बढीमा २५ प्रतिशत, चिल्लो पदार्थ घटीमा ८ प्रतिशत, एक्सट्रयाक्टेड फ्याटको एसिड भ्यालु बढीमा ६ प्रतिशत, कुल भस्म बढीमा ४ प्रतिशत र इस्ट तथा मोल्डको गणना बढीमा प्रतिग्राम २५ प्रतिशतसम्म हुनुपर्नेछ। यी वस्तुको स्वच्छता कायम गर्नका लागि एकपटक उत्पादन भईसकेकाे मिठाई वा दूग्धजन्य पदार्थ पुनः प्रयोग गरी गुँदपाक वा पुष्टकारी बनाउन पाईनेछैन। खाद्य ग्रेडको प्याकेजिङ सामग्रीको प्रयोग गरी प्याक गर्नुपर्नेछ भने त्यसमा लेबलसमेत अनिवार्य रुपमा खुलाउनुपर्नेछ।
चिउरामा कुनै प्रकारको फोहोर, गन्ध वा ढुसी, किरा, किराको निस्कासित पदार्थ वा अरु कुनै प्रकारका हानिकारक पदार्थ हुनु हुँदैन। यसमा कुनै पनि बाह्य रंग प्रयोग गर्न पाईनेछैन भने स्वाभाविक रंग, बास्ना र स्वाद हुनुपर्नेछ। चिउरामा जलांश बढीमा १३ प्रतिशत, कुल भस्म १ दशमलव ३ प्रतिशत, डाइल्युट हाइड्रेलिक एसिडमा नघुल्ने भस्म बढीमा शून्य दशमलव ३ प्रतिशत र अल्कोहलिक अम्लता बढीमा शून्य दशमलव २ प्रतिशतसम्म हुनसक्नेछ।
यस्तै ढुंगा,माटो, बालुवाजस्ता अजैविक पदार्थका तौलका आधारमा शून्य दशमलव १ प्रतिशत र भुस, चोकर, परालका टुक्राजस्ता जैविक पदार्थ बढीमा शून्य दशमलव ५ प्रतिशतसम्मलाई स्वीकार्य मानिएको छ। त्योभन्दा बढी हुनु हुँदैन।
दालमोठ तथा भुजियामा हुनुपर्ने गुणस्तरको परिधि समान प्रकृतिको छ। यी वस्तुमा जलांश बढीमा ५ प्रतिशत, कुल भस्म बढीमा ४ प्रतिशत, चिल्लो पदार्थ आलुको भुजियाका लागि बढीमा कुल सुख्खा तौलको आधारमा अधिकतम ५५ प्रतिशतसम्म र अन्यका लागि ४५ प्रतिशतसम्म हुनसक्नेछ।
त्यस्तै एक्सट्रयाक्टेड फ्याटको एसिड भ्यालु प्रतिग्राम २ मिलिग्रामसम्मलाई खाद्य मापदण्डअनुसार रहेको मानिनेछ। दालमोठ र भुजियाको स्वच्छतासम्बन्धी व्यवस्थामा उत्पादन, प्रशोधन, प्याकेजिङ, ह्याण्डलिङ, भण्डारण तथा ढुवानीमा सही मापदण्ड पालना गरेको र प्याकेजिङमा तोकिएको ग्रेडसहित सिलबन्दी भएको हुनुपर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।