काठमाडौं- यो सिजन स्पेनिस क्लब रियल मड्रिडका प्रशिक्षक जिनेदिने जिदानले युवा खेलाडीमाथि थप विश्वास बढाउने भएका छन्। मड्रिड टिमले गएका केही सिजनदेखि युवा खेलाडीमा लगानि गरिरहेको भए पनि उनीहरुले टिममा उपयुक्त समय पाइरहेका थिएनन्।
गएको सिजन ला लिगाको उपाधि जितेको रियल मड्रिडले च्याम्पियन्स लिगमा राम्रो गर्न सकेको थिएन। च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीसँगको हारपछि जिदानले क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेज र मुख्य कार्यकारी जोस एन्जेल सान्चेजसँग बैठक गरेका थिए।
जसमा क्लबको आगामी योजना केही भिन्न हुनेबारे कुराकानी भएको बताइन्छ। विशेष गरी युवा खेलाडीहरुले पहिलो टिममा धेरै समय पाउने जिदानले उल्लेख गरेका थिए। त्यसका लागि नै रियल सोसिडाडमा रहेका अट्याकिङ मिडफिल्डर मार्टिन ओडेगार्डलाई जिदानले क्लबमा बोलाएका छन्।
क्लब अध्यक्षले जिदानले कुन खेलाडीमाथि कति विश्वास गरेका छन् र पहिलो टिममा उनीहरुको सम्भावना कति हुन्छ स्पष्ट बताइदिन भनेका थिए। जसले माथिल्लो डिभिजनमा खेलिरहन पाउने खेलाडीको इच्छा लोनमा गएर भए पनि पूरा हुनुपर्ने उनको तर्क थियो।
जिदान अहिले १७ वर्षका फ्रेन्च फुटबलर एडवार्डो कामाविंगा जस्ता खेलाडी भित्र्याउने इच्छासमेत देखाइरहेका छन्। त्यसपछिको कारण युवा खेलाडीमाथिको उनको बढेको विश्वासलाई नै मानिएको छ।
सर्जियो रामोस, करिम बेन्जेमा, लुका मोडरिक, टोनी क्रुस, क्यासेमिरो, डानी कार्भाजल, राफेल भारान, इस्को, लुकास भास्कक्वेज जस्ता खेलाडीमाथि नै जिदानले गरिरहेको भरमा अब केही परिवर्तनको आश गर्न सकिन्छ।
अब नयाँ पुस्ताका एन्ड्री लुनिन, एल्भारो ओड्रिओजोला, इडर मिलिटाओ, फेर्लान्ड मेन्डी, भालभर्दे, ओडिगार्ड, डानी सेवालस, भिनिसियस जुनियर, रोड्रिगो र मार्को एसेन्सियो जस्ता खेलाडीले विशेष अवसर पाउने छन्।
ब्यवस्थापनलाई खुसी पार्नका लागि मात्र नभइ आउँदो सिजनलाई समेत सहयोग हुने गरी टिम बढाउन जिदानले युवा खेलाडीलाई धेरै समय दिने विश्वास गरिएको छ।
यो सिजन ला लिगामा रियल मड्रिडले पहिलो खेल आइतबार राति पौने १ बजे रियल सोसिडाडविरुद्ध खेल्दैछ। यही खेलमा जिदानले देखाउने योजनाले पनि आगामी दिनमा उनको सोच प्रस्ट हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।