काठमाडौं- प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसँग सम्बन्ध कायम र अंश मुद्दा माग गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा फिर्ता लिएकी बालिका खड्का आइबार पक्राउ परेकी छन्।
नेपाल कम्युनिस्ट पार्टीको बैठकस्थल पेरिसडाडाँमा केही भन्नु छ भन्दै उनी प्रवेश गर्न खोजेपछि प्रहरीले पक्राउ गरेको हो। जिल्ला अदालतमा रहेको मुद्दामा आफूले प्रमाण पुर्याउन नसक्ने भन्दै उनले फिर्ताको निवेदन दिएपछि जिल्ला अदातलते मुख्यमन्त्री राईविरुद्धको मुद्दाको फैसला सुनाएको थियो। भदौ ३१ गते उनले मुद्दा फिर्ता लिएको फैसला भएको थियो।
जिल्ला अदालतमा रहेको उनले अंश चलन मुद्दाको फिराद पत्रमा गत बुधबार फिर्ता लिएकी हुन्। मुख्यमन्त्री राईकी श्रीमती दाबी गरी अंश माग गर्दै उनले मुद्दा हालेकी थिइन्।
उनले राईसँग अंश माग गर्नका लागि श्रीमान श्रीमतिको नाता कायम भएको वा हुन सक्नेमा कुनै आधार र प्रमाण नभएको दावी गर्दै मुद्दा फिर्ता लिन निवेदन दिएकी थिइन्।
उनले राईसँग कुनै पनि सम्बन्ध नरहेको हुँदा यसरी नाता कायमै हुन नसक्ने भएपछि अंश दाबी सावित गर्न नसक्ने भन्दै मुद्दा फिर्ताको निवेदन दिएकी थिइन्। मुलुकी देवानी कार्यविधी संहिता, २०७४ को दफा १९६ बमोजिम यो मुद्दा फिर्ता लिएको कागज लेखी र लेखाई जिल्ला अदालतमा ३१ गते निवेदन दिएकी थिइन्। सोही दिन उनले मुद्दा फिर्ता लिएकी हुन्।
अनि बालिकाले मुद्दा फिर्ता लिइन्
बालिका भदौको अन्तिम साता अदाततमा तारेख लिन पुगेकी थिइन्। उनले एक महिनाको पछिको पेशी पनि बुझेर गएकी थिइन्। एक्कासी भदौ २९ गते उनलाई मुख्यमन्त्रीका मानिसहरुले मुद्दा फिर्ता लिन दबाब दिए। ३० गते उनलाई जिल्ला अदालतका एक न्यायाधीशको इजलाशमा पेश गरियो।
जिल्ला अदालत स्रोतका अनुसार उक्त दिन जवरजस्ती कसैलाई पनि मुद्दा फिर्ता गर्न नमिल्ने भन्दै न्यायाधीशले मुद्दा नहेर्न भनेपछि फर्केका थिए। त्यसको भोलिपल्ट उनीहरुले बालिकालाई जबरजस्ती पुनः जिल्ला अदालत मुद्दा फिर्ताका लागि लगेका थिए। जिल्ला न्यायाधीश राजकुमार खतिवडाको इजलाशले भदौ ३१ गते इजलाश समक्ष मुद्दा फिर्ता लिन तयार रहेको निवेदन दिएपछि फिर्ता हुने आदेश भएको थियो। उक्त आदेशपछि मुख्यमन्त्रीविरुद्धको मुद्दा औपचारीक रुपमै फिर्ता भयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।