काठमाडौं-नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको विधान बचाउन १३ औं महाधिवेशनकै प्रतिनिधि कायम गरि महाधिवेशन तोकिएकै समयमा गर्ने विकल्प अघि सारेका छन्।
फागुनमा महाधिवेशन हुन नसके पार्टीमा अराजकता बढ्ने उनले बताए। सुदूरपश्चिमका नेता-कार्यकर्तासँगको भिडिओ संवादमा नेता पौडेलले भने,‘विधान नै सकिएपछि कसले कसलाई सभापति,महामन्त्री मान्ने?’ पार्टी र विधान बचाउन पुरानै महाधिवेशन प्रतिनिधि कायम गरि फागुनमा महाधिवेशन गर्न सकिने उनले बताए।
सभापतिले समयमा महाधिवेशन गर्ने आश्वासन दिए पनि समयमा महाधिवेशन हुन नदिन भाँजो हालेको बताए। विभाग गठन र क्रियाशील सदस्यता वितरणमा सभापतिले गरेका कार्यप्रति असन्तुष्टि जनाउँदै उनले भने, ‘विभागमा आफ्ना मान्छे मनोनयन गर्ने, क्रियाशील सदस्यतामा बखेडा निकाल्ने कार्य सभापतिबाट भएको छ।’
गत फागुनपछि सभापति कामचलाउ भएकाले मनोनयन गर्न विधानले नदिने उनले दाबी गरे। विधानतः विभाग गठन समयमा नभएकाले मनोनित भएकाहरुको पनि अपमान भएको उनले सुनाए। ढिलो गरि विभागमा मनोनयन गरिएकाेप्रति उनले प्रश्न गरे,‘विभागमा रहने साथीहरुलाई कुन इज्जत हो त्यो? कुन सम्मान पाउनुहुन्छु उहाँहरुले?’
महाधिवेशन नजिक आएकाले विभागका सदस्यहरुले काम गर्न समय नै नभएको उनले बताए।
पार्टी भविष्यका लागि छैटाैं इन्द्रियसमेत सक्रिय रहेको उनले बताए। उनले भने,‘पार्टी भोलि कता जाँदैछ मैले देख्छु। पार्टीको भविष्य के हुन थाल्यो भनेर थाहा हुन्छ।’ पार्टीमा संकट निम्तिने आँकलन गरेर नै महासमितिको बैठकमै समयमा महाधिवेशन गर्नका लागि कार्यतालिका ल्याउन प्रस्ताव राखेको बताए।
उनले भने,‘त्यहाँ पनि गम्भीर रुपमा लिइएन। केन्द्रीय समितिमा एकसेएक ठूला नेताहरु बन्नेहरुले ध्यान दिएनन्।’ कार्यतालिका ल्याउन गरिएको प्रस्ताव केन्द्रीय समितिको बैठकमा जबर्जस्ती सुनाउन समय पाएको उनले स्मरण गरे। केन्द्रीय समितिको तत्कालीन परिवेशमा सभापतिको बोली सुनाउँदै उनले भने,‘तपाईंको प्रस्ताव पढ्नु भयो। बैठक पनि सकियो। अब महाधिवेशन साढे ५ वर्षमा हुन्छ भन्नुभयो।’
आफ्नै खेमाका नेताहरुले समेत प्रतिवाद नगरेको उनले दुखेसो पोखे। ‘हाम्रै साथीहरुले पनि रामचन्द्र दाइ बुढो भएर जान्छ,हाम्रो पालो आउँछ भन्ने व्यवहार देखाए। त्यस्तो पनि हो?’ पाैडेलले आफू समर्थकलाई प्रश्न गरे।
सभापति देउवाकै कारण संसदमा कांग्रेसको प्रभावकारिता फितलो देखिएको उनले आरोप लगाए। सुशासन र भ्रष्टचारमा पहिलो पङ्तिबाट बोल्दा हुने प्रभावकारिता पछिल्लो बेन्चबाट बोल्नेको नहुने उनले सुनाए। कांग्रेसको संसदको अघिल्लो बेन्च मौन प्राय देखिएको पौडेलले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।