काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र एभर्टनले लगातार दोस्रो जित निकालेका छन्। शनिबार राति भएको खेलमा आर्सनलले वेष्टहाम युनाइटेडलाई पराजित गर्दा एभर्टनले वेष्टब्रुमलाई पराजित गरेका हुन्।
आफ्नै मैदानमा भएको खेलमा आर्सनलले वेष्टहामलाई २–१ गोलअन्तरले पराजित गरेको हो। आर्सनलको जितमा एलेक्सन्ड्रे लकाजेट र इडिइ निकेटिहले गोल गरे। वेष्टहामका लागि मिचेल एन्टोनियोले गोल गरे।
खेलको २५औं मिनेटमा लकाजेटले गोल गर्दै आर्सनललाई अग्रता दिलाए। ४५औं मिनेटमा एन्टोनियोले गोल गर्दै वेष्टहामलाई १–१ गोलको बराबरीमा ल्याए। तर ८५औं मिनेटमा आर्सनलका इडिईले गोल गर्दै आर्सनललाई २–१ गोलको जित दिलाए। आर्सनलले यसअघि आफ्नो पहिलो खेलमा फुलहामलाई ३–० गोलअन्तरले पराजित गरेको थियो।
त्यस्तै, एभर्टनले वेष्टब्रुमलाई ५–२ गोलअन्तरले पराजित गरेको छ। एभर्टनलाई फराकिलो जित दिलाउने क्रममा डोमिनिक कलभर्ट लेविनले ह्याट्रिक गोल गरे। त्यस्तै, जेम्स रोड्रिगुएज र माइकल केनले समान १–१ गोल गरे। एभर्टनको लगातार यो दोस्रो जित हो। यसअघि भएको आफ्नो पहिलो खेलमा टोटनह्यामलाई १–० गोलअन्तरले पराजित गरेको थियो।
शनिबार राति नै भएको अर्को खेलमा नवप्रवेशी क्लब लिड्स युनाइटेडले फुलहामलाई ४–३ गोलअन्तरले पराजित गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।