काठमाडौं– म्यान्चेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा हारबाट सुरुवात गरेको छ। नयाँ सिजनको आफ्नो पहिलो खेलमा युनाइटेड क्रिस्टल प्यालेससँग पराजित भएको हो।
आफ्नै मैदान वल्ड ट्राफोर्डमा युनाइटेड क्रिस्टल प्यालेससँग ३–१ गोलअन्तरले पराजित भएको हो। क्रिस्टलको जितमा विल्फ्राइड जाहाले दुई र एन्ड्रोस टोउनसेन्डले एक गोल गरे। युनाइटेडका लागि डोनी भान डे विकले एक गोल फर्काएका थिए।
खेलको सातौं मिनेटमा नै एन्ड्रोसले गोल गर्दै क्रिस्टललाई अग्रता दिलाए। पहिलो हाफमा एक गोलको अग्रता बनाएको क्रिस्टलले दोस्रो हाफमा थप दुई गोल गर्दा युनाइटेडले एक गोल फर्काएको थियो।
खेलको ७४औं मिनेटमा पेनाल्टीबाट जाहाले गोल गर्दा क्रिस्टललाई २–० गोलको अग्रता दिलाए। ८० औं मिनेटमा भान डे विकले गोल गर्दै युनाइटेडलाई २–१ गोलको स्थितिमा ल्याए पनि जाहाले ८३औं मिनेटमा अर्को गोल गर्दै क्रिस्टललाई ३–१ गोलको जित दिलाए।
प्रिमियर लिगमा क्रिस्टल प्यालेसको लगातार यो दोस्रो जित हो। यसअघि भएको पहिलो खेलमा साउथह्याम्पटनलाई १–० गोलअन्तरले पराजित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।