काठमाडौं–लकडाउनयता नेपाली बजारमा ४ सय किलो सुन बिक्री भएको छ। गत चैतदेखि भदौसम्ममा ४ सय किलो सुन खपत भएको नेपाल सुन चाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले जानकारी दिए। लकडाउनपछि सानिमा बैंकले एक सय किलो सुन ल्याउने तयारी गरेको शाक्यले बताए। हाल बैंकहरुसँग १५० किलो सुन मौज्दात छ।
नेपालमा दैनिक तीन–चार किलो सुन बिक्री हुने गरेको शाक्यले बताए। तर सुन–चाँदी पसलमा भने ग्राहक नै आएका छैनन्। लकडाउन खुलेपछि पसल खुले पनि ग्राहक नआएको शाक्यले जानकारी दिए। अहिले सुन बिक्रीको सिजन होइन। सामान्य अवस्थामा दैनिक १० किलोसम्म सुनको खपत हुने गरेको छ।
तिहारमा सुन–चाँदीको माग हुने गरेको भए पनि सुनको भाउ अधिकतम भएकाले अहिलेदेखि नै किनेर राख्ने अवस्था नरहेको व्यवसायी बताउछन्। सुनको मूल्यले नयाँ नयाँ रेकर्ड बनाइरहेकाले स्टकमा राख्न नसकिने उनीहरु बताउछन्।
विश्व बजारमा सुनको भाउ तगातार बढिरहेको छ। शुक्रवार पनि सुनको मूल्य प्रति औंन्स १० डलरभन्दा धेरैले बढेको छ।
डलर कमजोर हुँदै गर्दा सुनको भाउ अझै बढ्ने अनुमान गरिएको छ।
कोभिड–१९ को कारण विश्व अर्थतन्त्र नै कमजोर हुँदा सुनको भाउले नयाँ रेकर्ड बनाएको हो। गत अगष्ट ७ मा प्रतिऔंन्स २०७० डलरसम्म पुगेको थियो। त्यसयता सुनको मूल्यमा करेक्सन हुने क्रममा प्रति औन्स १९५४ डलरमा झरेर कारोबार भइरहेको छ। तर पनि कोभिडको प्रभाव अझै बाँकी रहेको र नयाँ लगानीका अवसर नभएका कारण सुनको माग यथावत नै छ। यदि कोभिड नियन्त्रण भएर लगानीका ढोका खुल्यो भने सुनको मूल्यमा पहिरो जाने विश्लेषकहरु बताउछन्।
यसको असर नेपाली बजारमा पनि परिरहेको छ। सुनको भाउ अधिकतम एक लाख ३ हजार ५०० रुपैयाँसम्म पुग्यो। सुनको मूल्य अधिकतम बढ्दा कारोबार नै ठप्प भएको व्यवसायीले बताए पनि ४०० किलो सुन बिकेको छ। नेपालमा सुनको आयात बैंकहरुले मात्रै गर्न पाउछन्। सुन चाँदी व्यवसायीले बैंकहरुबाट सुन खरिद गर्नु पर्ने हुन्छ।
नेपालमा सुनचाँदीका गरगहना लगाउने परम्पराका कारण बढी खपत हुने गरेको छ। यसका साथै नेपालबाट गरगहना विदेशमा निर्यात गरिन्छ। शुक्रबार सुनको मूल्य ९७ हजार रुपैयाँ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।