काठमाडौं- जर्मन तल्लो डिभिजनको फुटबल क्लब एसजी रिपडोर्फ र एसभी हल्डेनस्टेडबीचको खेल ३७–० को फराकिलो अन्तरमा सकिएको छ। कोरोना जोखिमका कारण एसजी रिपडोर्फका खेलाडीहरुले शारीरिक दुरी बनाएर डिफेन्स खुला गर्दा हल्डेनस्टेडले ३७ गोल हानेको हो।
हल्डेनस्टेडका खेलाडी यसअघिको खेलमा कोरोना संक्रमितको सम्पर्कमा रहेकाले शारीरिक दुरी बनाउनका लागि रिपडोर्फले मैदानमा आफ्ना ७ खेलाडी मात्र उतारेको थियो। रिपडोर्फले जोखिमका कारण खेल सार्ने प्रस्ताव गरे पनि स्थानीय खेल संघले खेल सार्ने अनुमति दिएन। यदि रिपडोर्फले खेल नखेलेमा दुई सय युरो जरिवाना तिर्नुपर्ने हुन्थ्यो।
हल्डेनस्टेडका खेलाडी कोरोना संक्रमित व्यक्तिको सम्पर्कमा पुगेको १४ दिन नबितेकाले उनीहरुसँग नजिक हुनु जोखिम हुने भन्दै रिपडोर्फले मैदानमा नै दुरी बनाएर खेलमा ७ जना मात्र खेलाडी राखेको बताइन्छ।
खेलको सुरुमा रिपडोर्फका एक खेलाडीले बल चलाएर विपक्षी टिमका खेलाडीलाई बल पास दिएका थिए, जसपछि उनीहरु बलका लागि अघि नबढी मैदानको छेउछाउमा रहेर नै खेल सकाएका थिए।
रिपडोर्फका उपप्रमुख प्याट्रिक रिस्टोले आफूहरुले जोखिम मोल्न नचाएको बताएका छन्। ‘हल्डेनस्टेडका खेलाडीले कुरा बुझेनन् तर हामी कुनै पनि स्वास्थ्य जोखिम होस् भन्ने चाहँदैन थियौँ, यसैले हाम्रा खेलाडीले विपक्षी खेलाडीसँग दुई मिटरको दुरी बनाएर नै खेले’ उनलाई उद्धृत गर्दै इएसपिएनले लेखेको छ।
‘हाम्रा लागि दुई सय युरोको जरिवाना ठूलो रकम हो, त्यसमाथि यस्तो माहामारीको कठिन समयमा। त्यसैले खेल सञ्चालनका लागि आवश्यक ७ खेलाडी मात्र मैदानमा पठाएर भए पनि खेल सकायौँ’ उनले भनेका छन्।
आफ्ना खेलाडीहरुको कोरोना परीक्षण नतिजा नेगेटिभ आएकाले खेल नखेल्नुपर्ने कुनै कारण नरहेको हल्डेनस्टेडका प्रशिक्षक फ्लोरियन स्क्रिवाटरले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।